सन्तोषी रावल
बाजुरा, साउन २ । साउन महिनाको पहिलो दिन, हरियाली र समृद्धिको प्रतीक मानिने साउने संक्रान्तिमा बाजुराको प्रसिद्ध विरेखोला झरनामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
सदरमुकाम मार्तडी नजिकै रहेको यस झरनाको प्रवद्र्धन र पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको देउडा कार्यक्रममा महिला र पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
वर्षातले थप सुन्दरता दिएको झरनाको फेदीमा विरे खोलाको निरन्तर बहावको संगतमा परम्परागत भेषभूषामा सजिएका स्थानीय महिला–पुरुषले देउडा गाउँदै रमाइलो गरे।
कार्यक्रमस्थलको सौन्दर्य, स्थानीय पहिरन र देउडाको लयले मिलेर बाजुराको सांस्कृतिक अनुहारको सुन्दर झल्को प्रस्तुत गरिएको हो
कार्यक्रममा सहभागी भएका नरेन्द्र थापाले झरनालाई थपव्यवस्थित तरिकाले योजना अनुरुप भौगोलिक संरचना तथा होटलको राम्रो व्यवस्था भयो भने पर्यटक आकर्षित गर्दै आर्थिक रुपमा वृद्धि हुने बताए ।
कार्यक्रम बडी मालिका सामूदायिक विकास समाजको आयोजनामा, नगरपालिका, सामाजिक विकास कार्यालय तथा वडा नं. ६ र ८ को समन्वयमा सम्पन्न भएको हो । देउडियाहरूमा शंकर मल्ल, विष्णा विष्ट, पुने दानीलगायत चर्चित कलाकारहरूको जीवित प्रस्तुतिले दर्शकहरूलाई मन्त्र मुग्ध बनायो ।
कार्यक्रममा सहभागी पुरुषहरू परम्परागत दौरा सुरुवाल र कोट, महिलाहरू भने मखमली रातो चोली, कटन धोती र सेतो पटुकीमा सजिएर देउडाको तालमानाच्दै रमाइलो गरेका थिए ।
पहाडी भेषभूषामा देखिएको समूहगत प्रस्तुतिले बिरेखोलालाई केवलझरना मात्रनभई संस्कृति र परम्पराको संगम स्थलबनाएको छ ।
कार्यक्रममा करिब एक हजारभन्दा बढी आन्तरिक पर्यटकको सहभागि भएको आयोजकले जानकारी दिएको छ।
वर्षाको मौसम र हरियालीले झरनालाई थप आकर्षित बनाएको थियो । भीड व्यवस्थापन गर्न नगरपालिकाले प्रवेश शुल्क २० रुपैयाँ तोकेको छ र जसले पर्यटन व्यवस्थापनमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।
भौतिक पूर्वाधार बाटो, विश्राम स्थल, सूचना केन्द्र आदिनिर्माण गर्न सकियो भने विरेखोला झरना बाजुराको प्रमुख पर्यटन गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।
यसले रोजगारी, स्थानीयउत्पादनको बजारीकरण र सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सकारात्मकप्रभावपार्ने विश्वास लिइएको छ।
साउने संक्रान्तिमा आयोजित देउडा कार्यक्रमले विरेखोला झरनालाई केवल प्राकृतिक सौन्दर्यको स्रोत मात्र नभइ सांस्कृतिक सम्पदा, सामाजिक एकता र आर्थिक सम्भावनाको केन्द्रका रूपमा उजागर गरेको अनुमान गरिएको छ ।






