अमेरिकाले टीआरएफलाई घोषणा गर्‍यो ‘ वैश्विक आतंकवादी संगठन ’



एजेन्सी, साउन २ । अमेरिकाले पाकिस्तानको लश्कर–ए–तैयबा अन्तर्गतको संगठन टीआरएफ लाई विदेशी आतंकवादी संगठन र विशेष रूपमा नामित वैश्विक आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश विभागले शुक्रबार गरेको यस घोषणाले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकी हमलापछि भएको कूटनीतिक चासोलाई गम्भीरता दिएको संकेत गर्दछ ।

२२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंकी हमलामा २६ जनाको मृत्यु भएको थियो। यस घटनाको जिम्मेवारी टीआरएफले लिएको थियो, जसपछि यो संगठन पुनः विश्वको निगरानीमा आएको हो ।

अमेरिकी विदेशमन्त्रीले भने, “टीआरएफलाई वैश्विक आतंकवादी संगठन घोषणाले पहलगामका पीडितप्रति न्याय सुनिश्चित गर्न ट्रम्प प्रशासनले देखाएको प्रतिबद्धतालाई बल दिएको छ।”

द रेसिस्टेन्स फ्रन्ट लाई कश्मीर रेसिस्टेन्स को नामले पनि चिनिन्छ । यो संगठन लश्कर–ए–तैयबाको एक नयाँ ब्रान्डिङ हो जसले सन् २००८ को मुम्बई हमला जस्ता क्रूर आतंकी घटनाहरूमा संलग्नता देखाएको छ। मुम्बई हमलामा भारतको इतिहासमै सबैभन्दा भयानक आतंकी हमला भएको थियो, जसमा अजमल कसाबलाई जिवितै समातिएको थियो।
पहलगाम हमलापछि भारत–पाकिस्तानबीच केही दिनसम्म तनाव चरममा पुगेको थियो। दिल्लीस्थित थिंक ट्यांक साउथ एशिया टेररिज्म पोर्टल का अनुसार, हमलापछि परमाणु–सशस्त्र दुई देशबीच तीन दिनसम्म सीमामा तनावपूर्ण स्थिति सिर्जना भएको थियो, जसमा भारतले निर्णायक प्रतिक्रिया दिएको दावी गरिएको छ।

यसैबीच भारत स्थित इजरायली महावाणिज्यदूत कोब्बी शोशनी ले आतंकवादविरुद्ध सबै देश एकजुट हुनुपर्नेमा जोड दिएका छन्। “भारत र इजरायल वर्षौंदेखि आतंकवादबाट पीडित छन्। अब समय आएको छ कि विश्वका सबै ठूला राष्ट्रहरूले मिलेर आतंकवादविरुद्ध साझा र कठोर रुख अपनाउनुपर्छ,” उनले भने।

इजरायली कूटनीतिज्ञले गाजा क्षेत्रमा हालैको हमास द्वन्द्वपछि ५० जना इजरायली नागरिक अझै बन्धक अवस्थामा रहेको जानकारी दिए। “हामी अमेरिका र इजरायली सरकारबाट तिनीहरूको सकुशल फिर्तीको आशा राखिरहेका छौं,” उनले बताए।

भारतका विदेश मन्त्री एस. जयशंकर ले हालै सम्पन्न शंघाई सहयोग संगठनको बैठकमा आतंकवादका विरुद्ध भारतको अडिग र कठोर रुख पुनः दोहो¥याएका थिए।

अमेरिकाले टीआरएफलाई विश्व आतंकवादी सूचीमा राखेर पाकिस्तानमा सक्रिय आतंकी संगठनहरूको विरुद्ध स्पष्ट सन्देश दिएको छ। यस घटनाले भारतलाई कूटनीतिक, सुरक्षात्मक र जनसमर्थन तीनै तहमा बल दिएको छ। साथै, इजरायलजस्ता मित्र राष्ट्रहरूबाट पाइरहेको समर्थनले भारतको आतंकवादविरुद्धको लडाइँ अझ दृढ बन्दै गएको संकेत देखिन्छ।

प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रवार ०९:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको