एजेन्सी
पटना, साउन ३ । बिहार परिवर्तन अभियानको नेतृत्व गरिरहेका जन सुराज अभियानका संस्थापक प्रशान्त किशोर आरा जिल्लामा आयोजित रोड शोका क्रममा घाइते भएका छन्। उनलाई पाखुरामा चोट लागेको छ । प्रारम्भिक उपचारपछि थप स्वास्थ्य परीक्षणका लागि उनलाई पटना पठाइएको छ।
पार्टी स्रोतका अनुसार, प्रशान्त किशोर आरा बजार क्षेत्र हुँदै आफ्नो रोड शोमा सहभागी भइरहेका थिए। जनसाधारणसँग भेटघाट र संवादको क्रममा उनी आफ्नो कारबाट झुकेका थिए। त्यही बेला असन्तुलित भएर उनी घाइते भएका हुन्। सो क्रममा उनी सिधै पाखुराको भागमा चोट लाग्ने गरी झरेको बताइएको छ।
घटना भएको केहीबेरमै उनलाई पार्टीको सभामञ्चमा पु¥याइएको थियो। त्यहाँबाट तत्कालै एक निजी अस्पतालमा लगेर सीटी स्क्यान लगायत प्रारम्भिक परीक्षण गरिएको थियो।
प्राथमिक उपचार दिने चिकित्सक डा. विजय गुप्ताले जानकारी दिँदै भने, “सीटी स्क्यानको रिपोर्ट सामान्य देखिएको छ। पसलिमा हल्का चोट लागेको मात्र हो । गम्भीर कुनै चोट छैन। दुई–तीन दिन आराम गरेपछि पूर्ण रूपमा ठिक हुन्छन्।”
प्रशान्त किशोरको स्वास्थ्य अवस्था सामान्य रहेको र थप निगरानीका लागि उनलाई पटना स्थित अस्पतालमा रिफर गरिएको हो।
प्रशान्त किशोर अहिले आफ्नो ‘बिहार बदलाव यात्रा’ अन्तर्गत राज्यका विभिन्न जिल्लामा जनसंवाद र प्रचार अभियानमा जुटिरहेका छन्। सोही सिलसिलामा शुक्रबार उनी आरा पुगेका थिए। आरा स्थित वीर कुँवर सिंह स्टेडियममा आयोजना गरिएको जनसभामा सम्बोधन गर्ने कार्यक्रम थियो। तर रोड शोका क्रममा चोट लागेपछि उनी कार्यक्रममै अनुपस्थित भए।
पार्टीका अन्य नेताहरूले जनसभा सम्बोधन गरे पनि प्रशान्त किशोरको अनुपस्थितिले कार्यक्रम केही प्रभावित भएको थियो।
जन सुराजका वरिष्ठ नेता राजीव यादवले प्रशान्त किशोरको स्वास्थ्य स्थिर रहेको जनाउँदै शुभचिन्तकहरूलाई चिन्ता नलिन आग्रह गरे। उनले भने, “उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। केही दिनमा फेरि यात्रा जारी हुनेछ।”
यस घटनाले पार्टी कार्यकर्तामाझ केही समय तनाव देखिए पनि प्रशान्त किशोरको स्वास्थ्य सामान्य रहेको जानकारीपछि सबैले राहत महसुस गरेका छन्। पार्टीले अबको केही दिन अभियानलाई विश्राम दिने र पुनः कार्यक्रम तालिका बनाउने जनाएको छ।




