इटहरी, साउन ३ । तराईमा अत्यधिक गर्मी बढेसँगै गर्मी छल्न पहाड चढ्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण पहाडी क्षेत्रतर्फ बढेको छ। दैनिक ४२ डिग्री सेल्सियससम्मको तापक्रम बेहोरिरहेका तराईका बासिन्दाहरू शीतलताका लागि धनकुटाको भेडेटार हुँदै प्रसिद्ध नमस्ते झर्नातर्फ जान थालेका छन्।
सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही जस्ता तराईका जिल्लाहरूका साथै भारतका सीमावर्ती राज्यहरूबाट समेत अहिले नमस्ते झर्ना अवलोकन गर्न पर्यटकहरू आइपुगेका छन्। पर्यटक आगमनमा आएको उल्लेख्य वृद्धि भेडेटार क्षेत्रका होटल व्यवसायीले महसुस गरिरहेका छन्।
होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूका अनुसार गर्मी छल्न पहाड चढ्दै हाल भेडेटार क्षेत्रमा पर्यटकहरूको उल्लेखनीय चाप छ। उनले भने, “नमस्ते झर्नामा दैनिक करिब ३ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक पुगिरहेका छन्।”
सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहकार अग्नि लिम्बूका अनुसार, पछिल्लो समय नमस्ते झरना भेडेटारपछि पर्यटकहरूको अर्को प्रमुख गन्तव्य बन्न पुगेको छ। झरना अवलोकन गर्न भारत, बङ्गलादेशलगायत मुलुकबाट समेत पर्यटक आउने गरेका छन्। यसले झरनाको पर्यटकीय महत्व विस्तार हुँदै गएको संकेत गर्छ।
नमस्ते झरना प्राकृतिकरूपले अत्यन्तै सुन्दर, रमणीय तथा शीतल स्थानका रूपमा परिचित हुँदै आएको छ। त्यहाँको हरियाली, चिसो पानी र सुन्दर वातावरणले पर्यटकलाई आकर्षित गर्छ। पछिल्लो समय यहाँ पदमार्ग, विश्रामस्थल, संकेत बोर्ड जस्ता पूर्वाधार निर्माण भएपछि झनै सहज र आकर्षक गन्तव्य बन्न पुगेको स्थानीयहरू बताउँछन्।
स्थानीयवासीका अनुसार विशेषगरी युवापुस्ता तथा समूहमा घुम्न चाहने पर्यटकहरू यहाँ आकर्षित हुने गरेका छन्। गर्मी छल्ने बहानामा मनोरञ्जन र प्राकृतिक सौन्दर्य अवलोकन दुबै गर्न पाइने भएकाले झरनाको लोकप्रियता बढ्दो छ।
पर्यटकको चापसँगै यहाँका होटल, रेष्टुरेन्ट, यातायात सेवा, स्थानिय व्यवसाय र रोजगारमा समेत सकारात्मक प्रभाव परेको छ। स्थानीय सरकारले पनि पर्यटकमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन थालेको बताइएको छ।
यसरी, गर्मी छल्ने बहानामा नमस्ते झरनाजस्तो प्राकृतिक सौन्दर्ययुक्त स्थलले आन्तरिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्याइरहेको छ। निरन्तर पूर्वाधारको विकास, प्रचारप्रसार र संरक्षणसँगै यो स्थान पूर्वी नेपालको एक प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ।




