सामूहिक विष सेवन काण्ड : दुई छोरीपछि आमा र छोराको पनि निधन



एजेन्सी, साउन ४ । बिहारको नालन्दा जिल्लामा एकै परिवारले आर्थिक समस्याका कारण सामूहिक विष सेवन गरेको हृदयविदारक घटना सार्वजनिक भएको छ । शुक्रबार राति पाँच जनाको परिवारले महमा विष मिसाएर खाएका थिए । यस घटनामा दुई छोरीको उपचारका क्रममा निधन भएपछि शनिबार बिहान आमा र छोराको पनि ज्यान गएको छ । बाबु अझै अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् ।

मृतकहरूमा १४ वर्षीया दीपा, १२ वर्षीया अरिका, १० वर्षीय शिवम र आमा सोनी देवी छन्। बाबु धर्मेन्द्र कुमार गम्भीर अवस्थामा पटना मेडिकल कलेजमा उपचाररत छन्। परिवारका सबै सदस्यहरूले एकैपटक घर बाहिर गएर सामूहिक विष सेवन गरेका थिए ।

धर्मेन्द्रका चार सन्तानमध्ये कान्छो छोरा सत्यम कुमारले भने विष नखाई फालिदिएको थियो । यही कारण उनले आफ्नो ज्यान जोगाउन सफल भएको छ। सत्यमका अनुसार परिवार विगत केही महिनादेखि गहिरो आर्थिक सङ्कटमा थियो।

धर्मेन्द्र कुमार नालन्दाको एक गाउँमा साडीको सानो व्यापार गर्थे । व्यवसायमा घाटा भएपछि उनले पाँच लाख रुपैयाँ एक महाजनसँग ऋण लिएका थिए । तर सो ऋण तिर्न नसक्दा महाजनले बारम्बार घरमै आएर गालीगलौज गर्ने, बेइज्जत गर्ने र परिवारमा मानसिक दबाव बढाउने गरेका थिए।

परिवारका सदस्यहरूका अनुसार धर्मेन्द्रले बैंकबाट लोनको लागि निवेदन दिएका थिए, तर प्रक्रिया बीचमा बिचौलियाहरूले ५० हजार रुपैयाँ घूसको रूपमा खाए र लोन स्वीकृत हुन सकेन। यसले उनलाई थप निराश र निरुत्साहित बनाएको थियो।

घटनापछि नालन्दा प्रहरी प्रमुख (एसपी) भारत सोनीले घटनास्थलको निरीक्षण गरेका छन्। उनले एफएसएल (फरेन्सिक साइन्स ल्याब) टोलीलाई बोलाएर विषको स्रोत र अन्य प्राविधिक पक्षहरूको अनुसन्धान गरिरहेका छन् । साथै, विशेष अनुसन्धान टोली गठन गरेर परिवारमा मानसिक दबावको प्रमुख कारण पत्ता लगाउने प्रयास भइरहेको छ।

अब सबैको ध्यान एक कुरामा केन्द्रित भएको छ — के यस्तो समस्यामा फसेका परिवारहरूले सरकारले संचालन गरेका जनकल्याणकारी योजनाको लाभ पाएका थिए? यदि होइन भने, किन?

यस घटनाले न केवल आर्थिक संकटको गम्भीरता देखाएको छ, तर सामाजिक सुरक्षा प्रणालीको कमजोरी पनि उजागर गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आइतवार ०७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको