ओम प्रकाश यादव
रौतहट, साउन ४ । तराई मधेशमा यतिखेर वर्षा नभएर अत्याधिक गर्मी छन। गर्मीका कारण रौतहट सहितका जिल्लाको जनजीवन प्रभावित छन् । एकातर्फ गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ भने अर्को तर्फ गर्मीकै समयमा गौरमा घण्टौंसम्म विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन्।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौर रौतहटका प्रमुख रामअयोध्या प्रसाद यादवको बदमासी र चरम लापरवाहीका कारण रौतहटका उपभोक्ता खासगरी रातिमा घण्टौं लोडसेडिङको मार खेप्न बाध्य छन्।
विद्युत प्राधिकरण वितरण केन्द्र गौरबाट प्रसारित विद्युत रातिको समयमा गौरमा घण्टौंसम्म अवरुद्ध हुँदा बिजुली बत्तीको अभावमा आम नागरिक निकै दुःख र कष्ट भोग्न बाध्य छन् ।
देश लोडसेडिङ मुक्त भएपनि रौतहटका जनता लोडसेडिङ बाट मुक्त हुन सकेका छैनन । दिन र रातिमा गरी दर्जनौं पटक बत्ती आउने जाने समस्याका कारण उपभोक्ताहरू आजित भएका छन् ।
विद्युत प्राधिकरण वितरण केन्द्र गौरबाट प्रसारित बिजुली बत्ती छिनछिनमा आउने र जाने गरेको हो । अरु केन्द्रबाट प्रसारित विद्युतमा त्यति समस्या नभए अनि सबभन्दा बढी गौर वितरण केन्द्रबाट प्रसारित बिजुली बत्ती बढी आउने जाने गरेको हो ।
खासगरी रातिको समयमा खाना खाने बेला, सुत्ने बेला र सुतिसकेको बेला बिना कारण विद्युत प्राधिकरण वितरण केन्द्रले गौरमा घण्टौंसम्म विद्युत अवरुद्ध गर्ने गरेको छ जस् कारण आम नागरिक चर्को गर्मीको समयमा बिजुली नपाएर समस्या झेल्न र दुःख कष्ट भोग्न बाध्य छन् ।
रातिको समयमा घण्टौं सम्म बिजुली बत्ती अवरुद्ध हुँदा घरमा सुत्न नपाएर घर बाहिर निस्केर बस्नुपर्ने र बिजुली कतिखेर आउँछ भनी पर्खेर बस्नुपर्ने बाध्यता रहेको माधवनारायण नगरपालिका (६ माधोपुरका ७० वर्षीय मोहन राय यादव बताउँछन् ।
चर्को गर्मीको समयमा घण्टौंसम्म लोडसेडिङ भई विद्युत अवरुद्ध हुँदा घरमा बस्न निकै समस्या हुने गरेको यादवले बताए।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरका प्रमुख राम अयोध्या प्रसाद यादवको बदमासी र चरम लापरवाहीका कारण रातिमा घण्टौंसम्म लोडसेडिङ हुँदा आम नागरिक प्रभावित हुने गरेको जनता समाजवादी पार्टी नेपाल रौतहटका पुर्व जिल्ला अध्यक्ष श्याम विहारी यादवले बताएका छन्।
चर्को गर्मीको समयमा प्राधिकरणले बारम्बार घण्टौंसम्म लाइन काटेर आम नागरिकलाई दुःख दिने काम गरेको नेता यादवले बताए।
छिनछिनमा बत्ती आउने र जाने गरेको समस्या बढेको बताउँदै नेता यादवले विद्युत प्राधिकरणले यस्ता रवैया सुधार नगरे विद्युत प्राधिकरण वितरण केन्द्र गौर विरुद्ध आफूहरु आन्दोलनमा उत्रीन् बाध्य हुने नेता श्याम विहारी यादवले चेतावनी दिएका छन्।
जानी जानी जनतालाई दुःख दिने विद्युत प्राधिकरण वितरण केन्द्र गौरका प्रमुख यादवलाई कालोमोसो दलेर जन कार्यवाही गर्नुपर्ने आवाज उठेको छ।
गौर वितरण केन्द्र प्रमुख राम अयोध्या प्रसाद यादवले जनतालाई विद्युत सेवा उपलब्ध गराउन असफल र असक्षम रहेको भन्दै उनलाई कार्यवाही गर्न उपभोक्ताहरुले माग गरेका छन्।
नियमित विद्युत् सेवा उपलब्ध नगराए हाकिम यादवलाई जन कार्यवाही गर्ने सामाजिक सञ्जालमा उपभोक्ताहरुले चेतावनी दिइरहेका छन्।
विद्युत अवरुद्ध नहोस भनी बिजुली मर्मत सम्भार र रेखदेख गर्नका लागि सरकारले वार्षिक पठाउने गरेको १५ लाख भन्दा बढी रकम बिजुली मर्मत सम्भारमा खर्च नगरी गौर वितरण केन्द्र प्रमुख यादवले आफ्नै खल्तीमा राख्ने गरेको कारण मर्मत सम्भार नभई पटक पटक विद्युत अवरुद्ध हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा विद्युत प्राधिकरण गौर वितरण केन्द्रका एक कर्मचारी बताउँछन् ।
सरकारले विद्युत सेवा अवरुद्ध नहोस भनी बिजुली मर्मत सम्भार र रेखदेख गर्न उपलब्ध गराउने लाखौं रुपैयाँ हाकिम यादवले कामै नगराई एक्लै झ्वाम गरेको ती कर्मचारीको भनाइ छ।
उनले भने, ुत्यो पैसाले मजदुर खटाएर बिजुली बत्ती र पोलहरुको नियमित रेखदेख गरी मर्मत सम्भार गर्ने हो भने यसरी छिनछिनमा बत्ती जाँदैनथ्यो र जनताले दुःख भोग्दैन्थ्यो।
बत्ती अनियमित हुँदा आजित बनेका रौतहटबासीले अहिले विद्युत प्राधिकरण गौरमाथि आक्रोश पोखिरहेका छन् ।
प्राधिकरणको लापरवाही बढ्दै गएको भन्दै उपभोक्ताहरु प्राधिकरणमाथि निकै आक्रोसित भएका छन्।
विद्युत अवरुद्ध हुने समस्या समाधान गर्नु र आफ्ना कमीकमजोरी स्वीकार गर्नुको साटो विद्युत प्राधिकरणले जीर्ण अवस्थाको विद्युतीय संरचना, मौसम र प्राकृतिक प्रकोपलाई दोष देखाएर पन्छिन खोजिरहेका हुन्छन ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरका प्रमुख राम अयोध्या प्रसाद यादवको फोन उठन सकेन ।




