विपद्‌बाट बच्न प्रधानमन्त्री ओलीको अपील



काठमाडौं, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न क्षेत्रमा सम्भावित भारी वर्षाका कारण उत्पन्न हुन सक्ने विपद्‌बाट सतर्क रहन आम नागरिकहरूलाई अपील गरेका छन्। उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत सावधानी अपनाउनुपर्ने सन्देश दिएका छन्।

राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका धेरै भागहरूमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएकै केही समयपछि प्रधानमन्त्री ओलीले फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै विपद्‌को जोखिमबाट जोगिन सबैलाई सचेत रहन भनेका हुन्।

उनले लेखेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।”

प्रधानमन्त्रीको यो सन्देश यस्तो समयमा आएको हो, जब नेपालमा मनसुन प्रणाली सक्रिय रहेको छ र पहाडी तथा तराईका विभिन्न स्थानहरूमा डुबान, पहिरो र बाढीको जोखिम बढेको छ। विगत केही दिनदेखि देशका विभिन्न भागहरूमा भइरहेको लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। कतिपय स्थानहरूमा साना नदीहरूमा पानीको सतह बढेको, खेतबारी डुबानमा परेको र सडक यातायात समेत अवरुद्ध हुने स्थिति आएको छ।

प्रधानमन्त्रीले नागरिकहरूलाई सुरक्षाकर्मी, प्रशासन र स्थानीय सरकारका निर्देशनहरू पालना गर्न आग्रह गरेका छन्। विपद्‌ व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूलाई उच्च सतर्कता अपनाउन र राहत तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको छ।

यससँगै उनले सरकारी सूचना, मौसम पूर्वानुमान तथा विपद्‌सम्बन्धी सन्देशलाई गम्भीरतापूर्वक लिनु आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल, मिडिया र स्थानीय सूचनाको सहारा लिएर समुदायमा सचेतना फैलाउने काममा सबै जुट्नुपर्ने बताए।

अहिलेसम्म देशका विभिन्न ठाउँहरूमा केही ठाउँमा पहिरो जाँदा मानविय क्षति भएको, कतिपय स्थानमा बस्तीमा पानी पसेको, तथा सडक अवरुद्ध भएका घटनाहरू पनि देखिन थालेका छन्। यस्तो अवस्थामा प्रधानमन्त्रीको सन्देशले आम नागरिकलाई सतर्क गराउने र सरकारी संयन्त्रलाई थप क्रियाशील बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सरकारले यसअघि नै बाढी, पहिरो र डुबानको जोखिमयुक्त क्षेत्रको पहिचान गरी स्थानीय तहलाई तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ। साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायतका निकायहरूलाई आवश्यक उपकरणसहित विपद्‌ व्यवस्थापनमा खटिन भनिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ४, आइतवार ०८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको