काठमाडौं, साउन ५ । रसुवामा असार २४ गते आएको बाढीले पुर्याएको भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन सियाओदोंगबीच सोमबार भएको भेटमा चिनियाँ पक्षले यस्तो प्रतिबद्धता जनाएको हो।
अर्थमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोट अनुसार, बैठकमा नियोगका अध्यक्ष सियाओदोंगले रसुवाको भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि आवश्यक सहयोग प्रदान गरिने र भन्सारसम्बन्धी प्रक्रियाहरूलाई शीघ्र संचालन हुने गरी अघि बढाइने बताएका थिए।
असार २४ गते तिब्बत क्षेत्रबाट आएको भीषण वर्षापछि लेन्दे र केरुङ खोलाको बाढी भोटेकोशी नदीमा मिसिएर शक्तिशाली बनेपछि ठूलो जनधन र संरचनात्मक क्षति भएको थियो। यस बाढीमा ६ चिनियाँ नागरिकसहित १९ जना बेपत्ता छन्। हालसम्म ११ वटा शव र मानवअंगहरू फेला परिसकेका छन्।
चिनियाँ पक्षले बाढीपछिको उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीमा नेपाली सरकारले देखाएको सक्रियता र तत्परताको प्रशंसा गरेको छ। अध्यक्ष सियाओदोंगले नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै संकटको समयमा गरिएको प्रयास प्रेरणादायक भएको बताएका थिए।
अर्थमन्त्री पौडेलले चिनियाँ पक्षलाई धन्यवाद दिँदै विपद् पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले भने, ूआयात–निर्यात मात्र होइन, राजस्वका दृष्टिकोणले पनि रसुवा नाका अत्यन्तै महत्वपूर्ण छ। त्यसैले पुनर्निर्माण कार्यलाई शीघ्र अघि बढाउने छौं।ू
पौडेलले नेपाल र चीनबीचको आर्थिक सहकार्य थप मजबुत हुँदै गएको उल्लेख गर्दै, दुवै देशबीचको आपसी समझदारीलाई संस्थागत रूप दिनुपर्नेमा जोड दिए।
द्विपक्षीय भेटपछिको कार्यसूची अनुसार, नेपाल र चीनबीच चार महत्वपूर्ण परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
भरतपुर क्यान्सर अस्पतालको प्रविधि तथा पूर्वाधार विकास, सिभिल अस्पतालको स्तरोन्नति रसुवागढी–केरुङ ट्रान्समिसन लाइन निर्माणमा प्रविधि सहयोग
रसुवाको भौतिक संरचनाको पुनर्निर्माण र भन्सार सुधार कार्यक्रम सहितमा सहयोगगर्ने सम्झौता भएको हो ।
सरकारले चीनसँगको सम्बन्धलाई ‘विश्वसनीय मित्रता’ को रूपमा चित्रण गर्दै आपसी सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। चिनियाँ पक्षबाट समेत नेपालमा आवश्यक लगानी, पूर्वाधार विकास, ऊर्जा तथा स्वास्थ्य क्षेत्रका परियोजनामा चासो देखाउँदै अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ।




