विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीको चेतावनी



काठमाडौं, साउन ५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित विषयमा पार्टी नेताहरूलाई संयमित रहन चेतावनी दिएका छन्। सोमबार सुरु भएको नवौं केन्द्रीय कमिटी बैठकमा उनले भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका हुन्।

बैठकमा अध्यक्ष ओलीले केही नेताहरू भण्डारीको अघिपछि लाग्दै हिंडेकोप्रति रोष व्यक्त गरे। ूचुनाव हारेकाहरू पनि जता पनि पछ्याएर हिंड्नेरुू भन्दै उनले नेताहरूको आचरणप्रति असन्तुष्टि जनाए। उनले भण्डारीले अझै कुनै भूमिका स्पष्ट नगरेको अवस्थामा अरू नेताहरूले उनको सन्देश बोकेको शैली अपनाउनु अनुचित भएको तर्क गरे।

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई च्यासलमा भेटेको स्वीकार गरे। उनले भने, “विद्याजीलाई बालुवाटारमै बोलाएको थिएँ, तर उहाँले पार्टी कार्यालय देख्नु भएको छैन भनेर च्यासलमा भेट्न चाहनुभयो।” उनले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीबीचको भेटलाई सामान्य विषय बनाएर “त्यो ठूलो कुरा होइन” भन्दै आलोचकहरूलाई लक्षित गरे।

बैठकमा ओलीले पार्टीभित्र अस्वस्थ गतिविधिहरू बढ्न थालेको भन्दै त्यसलाई रोक्न आफू दृढ रहेको बताए। एमालेको आन्दोलन सधैं हमलाको शिकार भएको उल्लेख गर्दै उनले भने, “हाम्रो पार्टीले ८ सालदेखि १३ सालसम्म प्रतिबन्ध भोगेको थियो, तर पछिल्लो समयजस्तो घुसपैठ थिएन।”

ओलीले मोहनविक्रम सिंहले सुरु गरेको गालीगलौजको प्रवृत्तिलाई माओवादी अध्यक्ष प्रचण्डले विस्तार गरेको आरोप लगाए। “राष्ट्रिय राजनीतिमा धोकाधडीको नाम प्रचण्ड हो,” उनले कटाक्ष गरे।

एमालेले अघि सारेको ‘मिसन ०८४’ सफल बनाउन सबै एकजुट हुनुपर्ने भन्दै ओलीले भने, “बहुमत नभई काम अघि बढ्दैन, एकता नभई नीति कार्यान्वयन गर्न सकिन्न।” उनले नेताहरू ससाना स्वार्थमा अल्झिनु संकीर्ण सोचको उपज भएको बताए।

अन्त्यमा, ओलीले ७० वर्षे उमेरहद हटाउने निर्णय आफ्नै प्रस्ताव भए पनि अहिलेको परिस्थिति फरक रहेको स्पष्ट पार्दै, कुनै हालतमा पार्टीमा अनुशासनहीनता सह्य नहुने चेतावनी पनि दिए।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमवार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको