एजेन्सी, साउन ५ । युक्रेन संग शान्तिवार्ताका लागि रुस तयार भएको छ । रूस–यूक्रेन युद्धको मध्यमा रूसले एकपटक फेरि शान्तिवार्ताका लागि तत्परता देखाएको छ । तर उसले आफ्ना रणनीतिक लक्ष्यहरू प्राप्त गर्नु मुख्य प्राथमिकता रहेको स्पष्ट पारेको छ ।
क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले आइतबार एक सार्वजनिक वक्तव्यमा भने, “राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संग शान्तिवार्ताका लागि पहिले देखि नै इच्छा व्यक्त गर्दै आएका छन् । तर यो प्रक्रिया सजिलो छैन, यसका लागि दीर्घकालीन प्रयास आवश्यक छ।”
पेस्कोभको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोलाई ५० दिनभित्र युद्धविराममा सहमत हुन वा कडा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएपछि आएको हो। यसले राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ कि के पुटिन अमेरिकी चेतावनीबाट दबाबमा छन् ?
पेस्कोभले भने, “हाम्रो लागि मुख्य कुरा भनेको हाम्रो घोषित लक्ष्यहरू प्राप्त गर्नु हो, जुन स्पष्ट र अडिग छन्।”
क्रेमलिनले स्पष्ट पारेको छ कि सम्भावित शान्ति सम्झौतामा यूक्रेनले ती चारवटा क्षेत्र — दोनेत्स्क, लुहान्स्क, झापोरीझिया र खेरसोन — बाट पूर्णरूपमा फिर्ता हुनुपर्छ, जुन क्षेत्रहरूलाई २०२२ को सेप्टेम्बरमा रूसले आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो। यद्यपि ती सबै क्षेत्रमा उसले पूरै सैन्य नियन्त्रण जमाउन सकेको छैन।
नाटो सदस्यता प्रयास पनि रोकिनु पर्छः रूस
रूसको अर्को प्रमुख सर्त हो— यूक्रेनले नाटोमा सामेल हुने प्रयास तत्काल बन्द गरोस् र आफ्नो सैन्य संरचनालाई रूसद्वारा तय गरिएको सीमाभित्र राखोस् । तर यूक्रेन र उसका पश्चिमा सहयोगी राष्ट्रहरूले यस मागलाई पूर्ण रूपमा अस्वीकार गरिसकेका छन्।
शान्ति वार्ताको प्रस्ताव आए पनि रूसले आफ्नो सैन्य कारबाहीमा कुनै कमी गरेको छैन। रूसी रक्षा मन्त्रालयका अनुसार, उसले यूक्रेनका सैन्य–औद्योगिक पूर्वाधारहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ।
युद्धमा उच्च सटीकता भएका हवाई, स्थल र समुद्री मिसाइलसँगै ड्रोनको समेत प्रयोग गरिएको छ र निर्धारण गरिएका सबै लक्ष्यहरूलाई निशाना बनाइएको बताइएको छ।
रूसी रक्षा मन्त्रालय र मस्कोका मेयरले जानकारी दिएका छन् कि रातभरको अवधिमा रूसले १४२ युक्रेनी ड्रोन खसाल्न सफल भएको छ, जसमध्ये २७ वटा मस्को क्षेत्रमा खसेका थिए। यी ड्रोनहरू युरोपेली रूसका विभिन्न भूभागदेखि कालो सागर क्षेत्रसम्म देखिएको रिपोर्ट गरिएको छ।




