सेयर बजार ११ महिनायताकै उच्च विन्दुमा, नेप्से २८९२ अंकमा पुगेको नयाँ कीर्तिमान



काठमाडौं, साउन ५ । नेपाली सेयर बजार सोमबार ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा २१.७६ अंकले वृद्धि भई २८९२ विन्दुमा पुगेर अघिल्लो वर्षको ९ भदौयताकै कीर्तिमान नजिक पुगेको हो। सो दिन नेप्से २८९४ अंकमा थियो।

यद्यपि बजार परिसूचक उकालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार १६ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ।

तर, बजारको पूँजीकरण भने नयाँ रेकर्डमा पुगेको छ। सोमबार सबै सूचीकृत कम्पनीहरूको कूल बजार मूल्य ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि १८ फागुनमा पूँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो।

दिनभरको कारोबारमा १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९६ कम्पनीको घटेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।

उद्योगगत उपसमूहमध्ये माइक्रोफाइनान्स समूहको सेयर मूल्यमा सबैभन्दा धेरै १।९३ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै, विकास बैंक १।४२, निर्जीवन बीमा १.२७, अन्य १.८४, बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन्।

थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी कम्पनीको सेयर मूल्यमा सर्किट लेभल अर्थात् १० प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी, उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ९.४० प्रतिशतले र फस्र्ट माइक्रोफाइनान्सको मूल्य ८.९९ प्रतिशतले बढेको छ।

यता, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको छ। त्यसबाहेक सिन्धु विकास बैंकको मूल्य पनि उल्लेख्यरूपमा ६.३६ प्रतिशतले घटेको छ।

आजको सेयर बजारमा सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर कम्पनी, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक परेका छन्।

समग्रमा, बजार परिसूचकको उच्च वृद्धिले लगानीकर्तालाई सकारात्मक संकेत दिएको छ। यद्यपि कारोबार रकममा आएको घटावटले सतर्कता अपनाउनुपर्ने अवस्था पनि देखिएको छ। आगामी दिनमा बजारको दिगोपन कायम रहने हो भने लगानीकर्ताको आत्मविश्वास थप बढ्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमवार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको