काठमाडौं, साउन ६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्पष्ट रूपमा एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी छन्। भण्डारीले आफू कुनै हालतमा पछि नहट्ने बताउँदै पार्टीभित्र कार्यकर्तालाई आतंकित पार्ने कार्यहरू तुरुन्त रोक्न चेतावनी दिएकी छन्।
काठमाडौंको भंगालस्थित निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै, भण्डारीले पार्टीभित्रको असहिष्णु प्रवृत्तिको खुलेर आलोचना गरिन्। उनले महाधिवेशन नगरी नेतृत्वको बहस गराएर कार्यकर्तालाई मानसिक रूपमा कमजोर बनाउन खोजिएको आरोप लगाइन्।
उनको भनाइमा, “महाधिवेशन नगरी नेतृत्व परिवर्तनको बहस चलाउनु आफैंमा शंकास्पद छ। यो बहसले कार्यकर्तालाई विभाजित पार्ने र भ्रमित बनाउने काम गरिरहेको छ।”
पूर्वराष्ट्रपतिले जिल्ला र प्रदेश तहमा ग्रुप बनाएर कार्यकर्तालाई बोल्न नदिने प्रवृत्ति मौलाएको आरोप पनि लगाइन्। “जसले साँचो कुरा गर्छ, उसलाई किनारा लगाउने, धम्क्याउने र अपमानित गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो अराजनीतिक गतिविधि तुरुन्त बन्द हुनुपर्छ,” उनले भनिन्।
उनले पार्टीभित्र भयको वातावरण सिर्जना गरेर एकाधिकार कायम गर्ने प्रयास भइरहेको भन्दै त्यसले संगठनलाई क्षति पुर्याउने चेतावनी दिइन्। “हामी सबै कार्यकर्ता बराबरीका आधारमा अगाडि बढ्नुपर्छ। आवाज थिच्ने होइन, सुन्ने र सम्हाल्ने संस्कार विकास गर्नुपर्छ,” भण्डारीको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीको पछिल्लो अभिव्यक्ति राजनीतिक पुनर्सक्रियताको स्पष्ट संकेत मानिएको छ। पार्टीभित्र लामो समयदेखि चलिरहेको असन्तुष्टि र शक्ति संघर्षको सन्दर्भमा उनको यो वक्तव्य विशेष अर्थपूर्ण मानिएको छ।
पार्टी नेतृत्वसँग असन्तुष्ट केही समूहले भण्डारीलाई वैकल्पिक नेतृको रूपमा अगाडि सार्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। यसअघि पनि उनले विभिन्न कार्यक्रममा जनस्तरबाट नेतृत्वको माग उठिरहेका छन् भन्ने जनाउने संकेत दिएकी थिइन्।
यद्यपि, भण्डारीले पार्टीभित्र विवाद चर्काउने उद्देश्य आफूले नराखेको बताउँदै एकता र समन्वयको पक्षमा उभिनुपर्ने आवश्यकता औंल्याइन्। उनले महाधिवेशनसम्म सबै विषय संस्थागत रूपमा समाधान गर्नुपर्ने धारणा राखेकी छन्।
“नेतृत्व परिवर्तन, रणनीतिक बहस सबै महाधिवेशनको मञ्चमा हुनुपर्छ, सडक र गुप्त छलफलबाट होइन,” उनले स्पष्ट गरिन्।




