कुलिङ पिरियड लागु गर्ने विषयमा कुनै सम्झौता हुँदैन : डा. महत



काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निजामती सेवामा ‘कुलिङ पिरियड’ लागू गर्ने विषयमा पार्टीले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन । उनले प्रधानमन्त्रीलाई गठबन्धनमा समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै एकलौटी शैलीमा निर्णय लाद्ने प्रवृत्ति अस्वीकार्य हुने चेतावनी समेत दिएका छन्।

बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. महतले भने, “गठबन्धन सफल बनाउन सबैले एक अर्काको दृष्टिकोणलाई सम्मान गर्नुपर्छ। म जे चाहन्छु, त्यही हुन्छ भन्ने सोचले गठबन्धन टिक्दैन।”
उनले प्रधानमन्त्री ओलीलाई गठबन्धनको संयोजकका रूपमा निष्पक्ष र समावेशी भूमिका खेल्न आग्रह गरे।

महतले निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान हटाउन एमाले सांसदहरूले राष्ट्रिय सभामा दर्ता गराएको संशोधन प्रस्तावप्रति कडा आपत्ति जनाए।

उनले भने, “समितिबाट सर्वसम्मत रूपमा अघि बढेको कुरा एमालेको आग्रहमा हटाउने प्रयास कांग्रेसलाई स्वीकार्य छैन। यसमा कांग्रेसले कुनै प्रकारको सम्झौता गर्नेछैन।”

कांग्रेस प्रवक्ता महतले भूमि विधेयकसम्बन्धी विषयमा पनि चेतावनी दिँदै भने, “यसमा पनि समग्र छलफलपछि मात्रै निष्कर्षमा पुग्नुपर्छ। जबर्जस्ती थोपिएको निर्णय हामी मान्दैनौं।”

उनले गठबन्धनबीच भएको सात बुँदे सहमतिको स्मरण गराउँदै संविधान संशोधनको विषय कार्यान्वयनमा ढिलाइ हुन नहुने धारणा राखे।
“नचाहिने माग कांग्रेसले राख्दैन, तर जसले राष्ट्र र लोकतन्त्रलाई बलियो बनाउँछ, ती माग पूरा हुनुपर्छ,” महतको भनाइ थियो।

गठबन्धन सरकारले २०८४ सम्मको अवधि लक्षित गरेर अघि बढेको स्मरण गराउँदै उनले सरकारको प्रभावकारिता अझ बढाउनु पर्ने बताए। साथै, सरकारी नियुक्तिहरूमा सन्तुलन र समावेशिता आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको