एजेन्सी, साउन ८। भारतको आगामी उपराष्ट्रपति पदको दौडमा बिहारका वरिष्ठ नेता तथा पूर्वमुख्यमन्त्री स्वर्गीय कर्पूरी ठाकुरका पुत्र रामनाथ ठाकुरको नाम चर्चामा आएको छ । जेडीयूका राज्यसभा सांसदसमेत रहेका ठाकुरले हालै भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि राजनीतिक वृतमा नयाँ बहस सुरु भएको हो ।
स्रोतका अनुसार, रामनाथ ठाकुर उपराष्ट्रपति पदका लागि सत्तारूढ गठबन्धन एनडीए (राष्ट्रीय लोकतान्त्रिक गठबन्धन) को संभावित उम्मेदवारका रूपमा अगाडि सारिएका छन् । उनीसँग भएको हालैको उच्चस्तरीय भेटवार्ता यसै विषयमा केन्द्रित रहेको बुझिएको छ।
भाजपा स्रोतले दिएको जानकारीअनुसार रामनाथ ठाकुरको नाममा एनडीए भित्र आन्तरिक सहमति बनिसकेको छ । अब निकट भविष्यमा उपराष्ट्रपति पदका लागि ठाकुरको उम्मेदवारीको औपचारिक घोषणा हुनसक्ने संकेत दिइएको छ । यसबीच, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एनडीएले सामाजिक सन्तुलन र क्षेत्रीय प्रतिनिधित्वलाई ध्यानमा राख्दै ठाकुरलाई अगाडि सार्न लागेको अनुमान गरिएको छ।
कर्पूरी ठाकुरको राजनीतिक विरासतको प्रभाव
रामनाथ ठाकुर आफ्ना पिता कर्पूरी ठाकुरको राजनीतिक विरासतका वाहक मानिन्छन् । सामाजिक न्याय र पिछडिएको वर्गको हितमा काम गर्ने नेताको रूपमा उनले देशभर व्यापक स्वीकृति पाएका छन्। उनको यही छवि र अनुभवका कारण भारतीय राजनीति र समाजमा उनको भूमिका अझ महत्वपूर्ण बन्न थालेको छ।
बिहारबाट आउने ठाकुर पिछडा वर्गको प्रतिनिधि नेताका रूपमा स्थापित छन् । यसले गर्दा आगामी उपराष्ट्रपति पदमा उनी चयन भए सामाजिक सन्तुलन कायम राख्ने रणनीतिक निर्णय हुनेछ भन्ने धारणा राखिएको छ।
दिल्लीमा भएको भेटमा भाजपा अध्यक्ष जेपी नड्डाले ठाकुरसँग करिब एक घण्टा लामो छलफल गरेका थिए। त्यहाँ पार्टीका अन्य वरिष्ठ नेताहरूको समेत उपस्थिति थियो। यति उच्चस्तरीय भेट उपराष्ट्रपति चयन प्रक्रिया संगै जोडिएर हेरिएको छ।
रामनाथ ठाकुरको नाम बाहिरिएसँगै दिल्लीदेखि पटना सम्मको राजनीति एक पटक फेरि तातिएको छ। जेडीयू र भाजपा बीच विगतमा देखिएको खटपटपछि यो भेटलाई सन्देशमूलक रूपमा पनि हेरिएको छ।
हाल ठाकुर केन्द्रमा सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयका राज्यमन्त्रीका रूपमा कार्यरत छन्। उनले विगत केही वर्षमा मध्यमार्गी र समावेशी धारको राजनीति गर्दै आएका छन्।
अब हेर्न बाँकी छ – के रामनाथ ठाकुर भारतका भावी उपराष्ट्रपति बन्नेछन् त? यदि यस्तो भयो भने उनी कर्पूरी ठाकुरको राजनीतिक योगदानलाई नयाँ उचाइमा पु¥याउने नेताका रूपमा चिनिनेछन्।




