जनकपुरधाम, साउन ११ । नेपाली काँग्रेस भित्र अस्तित्वको लडाइ लडि रहेको शेखर कोइराला समूह मधेशमा सक्रिय बन्दै गएको छ ।
मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टी भित्रको बेथिति तथा भ्रष्टाचारको अन्त, अगामी महाधिवेशनमा नेतृत्व परिवर्तन सहितको विषय लिएर कोइराला समूह मधेश प्रदेशमा सक्रिय भएका हुन ।
शेखर कोइराला बिचार समूहको नाममा मधेश प्रदेशका कोइराला समूहको नेताहरु शनिवार महोत्तरीको बर्दीवासमा भेला भएर समूहको अगामी रणनीतिबारे गहन छलफल गरेको छ ।
हालै देउवा समूह परित्याग गरि कोइराला समूहमा प्रवेश गरेका काँग्रेस धनुषाका प्रभावशाली नेता रामसरोज यादवको अध्यक्षतामा भएको उक्त भेलामा सप्तरी देखी पर्सा सम्मका कोइराला समूहका अगुवा नेताहरुको सहभागिता रहेको थियो ।
उनिहरुले पार्टी भित्र देखिएको बेथिती अन्तका लागि आफुहरु सक्रिय भएको दावी गरेका छन । कोइराला समूहका धनुषाका युवा नेता सुरेश कोइरालाले पार्टी भित्र विचारको खडेरी परेको बेलामा पार्टीलाई वैचारिक रुपमा पुर्नजिवन दिन आफुहरु सक्रिय भएको बताएका छन ।
उनले अगामी महाधिवेशनलाई मुख्य केन्द्र विन्दु बनाएर कोइराला विचार समूह सक्रिय भएको दावी समेत गरेका छन । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको मितिबारे चर्चा परिचर्चा भइ रहेको बेला समयमै महाधिवशेन गराउन दवाव दिनुका साथै अगामी महाधिवेशनका लागि रणनीति बनाउन भेला सम्पन्न भएको कोइरालाले बताए ।
प्रदेश स्तरीय यस्ता भेला सातै प्रदेशमा भई रहेको बताउदै कोइरालाले प्रदेश स्तरीय भेला पछि केन्द्र स्तरमा भेला हुने र त्यसले नेपाली काँग्रेसलाई नयाँ दिशा प्रदान गर्ने उनले बताए ।
बैठकमा रामसरोज यादवका साथै केन्द्रिय सदस्य डा. चन्द्रमोहन यादव, बजरंग नेपाली , अजय द्विवेदी, कौशल किशोर राय , राजेन्द्र अमात्य, श्याम पटेल सहितका नेताहरुको सहभागिता रहेको थियो ।




