मधेशको खडेरी संकट समाधान गर्न जसपा नेपालको माग



जनकपुरधाम, साउन १२ । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश समितिले मधेशको खडेरी संकट समाधान गर्न सरकार संग मांग गरेको छ । जसपा नेपाल मधेश प्रदेश समितिले एक विज्ञप्ति जारी गर्दै हाल मधेशमा व्याप्त खडेरी, पानीको अभाव र किसानको संकट समाधानका लागि सरकारलाई तुरुन्त ध्यान दिन आग्रह गरेको छ ।

विज्ञप्ति अनुसार लगातार मनसुन वर्षा नहुनु, जमिनको सतहमा पानीको स्तर घट्नु र सरकारले प्रभावकारी उपाय नगर्नुका कारण यस वर्ष मधेशका धेरैजसो भूभागहरूमा खेती गर्न असहज अवस्था देखिएको छ।

मधेश प्रदेशको अधिकांश क्षेत्रहरूमा गहिरो खडेरीका कारण किसानहरू गम्भीर समस्यामा परेका छन्। पानीको अभावका कारण रोपाइँ रोकिएको छ भने अन्नबाली उत्पादनमा समेत ठूलो गिरावट आउने चिन्ता व्यक्त गरिएको छ। जसपाले विज्ञप्तिमा सरकारको नीतिगत कमजोरीलाई दोष दिँदै, अहिलेको संकट मानवीय व्यवहारको परिणाम भएको उल्लेख गरेको छ।

जसपा नेपालको अनुसार, मधेशको अधिकांश भूभागमा सिँचाइको पर्याप्त व्यवस्था नभएकाले जमिन सुक्खा छ। मनसुन कमजोर हुँदा किसानहरूले वर्षा पानीको भरमा गरिएको खेती गर्न नसक्दा बाली सुक्न थालेको छ। यसबाट मधेशको कृषि अर्थतन्त्रमा गम्भीर असर परेको जनाइएको छ।

किसानहरूले डीजलबाट चल्ने पम्प सेटमार्फत सिँचाइ गर्नुपर्ने बाध्यता रहेको तर डीजलको मूल्य वृद्धि तथा आपूर्ति समस्या भएको भन्दै जसपाले सरकारसँग डीजल र बिजुलीको सुलभ आपूर्ति सुनिश्चित गर्न जोड दिएको छ।

विज्ञप्तिमा जसपाले प्रदेश सरकारसँग सुख्खा क्षेत्र घोषणा गरिएको खडेरी प्रभावित क्षेत्रका किसानलाई राहतस्वरूप निःशुल्क सिँचाइको व्यवस्था गर्न, डीजल र बिजुलीको उपलब्धता सुनिश्चित गर्न तथा कृषक कर्जामा छुट दिन समेत आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि अहिलेको संकट केवल प्राकृतिक नभई व्यवस्थापनको पनि समस्या हो। पार्टीले चुरे क्षेत्रको दोहन रोक्न र नदी दोहन बन्द गर्न माग गर्दै प्रदेश सरकारसँग सहकार्य गर्न पनि आग्रह गरेको छ। स्रोत साधनको संरक्षण र दीर्घकालीन समाधानतर्फ सरकार गम्भीर नभएसम्म मधेशमा यस्ता संकट बारम्बार हुने चेतावनी पार्टीले दिएको छ।

जसपाका मधेश प्रदेश अध्यक्ष श्री बालकिशोर प्रसाद यादवद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सरकारसँग समग्र मधेशबासीको पक्षमा शीघ्र निर्णय लिन आग्रह गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमवार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको