एजेन्सी
देवघर, साउन १३ । मोहनपुर प्रखंडको जमुनिया चौक नजिक देवघर–हंसडीहा मार्गमा आज बिहान भएको एक भीषण सडक दुर्घटनामा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा छ जना तीर्थयात्रीको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । दुर्घटनामा बस चालकको पनि घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
घटनास्थलमा तत्कालै उद्दार कार्य सुरु गरिएको थियो । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई एम्स अस्पतालमा रेफर गरिएको छ, जहाँ उनीहरूको आपतकालीन कक्षमा उपचार भइरहेको छ । केहीलाई आईसीयूमा राखिएको छ । अन्य घाइतेहरूको देवघरको सदर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
देवघरबाट बासुकीनाथ जाँदै गरेको तीर्थयात्री बसमा ४० भन्दा बढी श्रद्धालु सवार थिए । ती मध्ये अधिकांश बिहार र छत्तीसगढ़बाट आएका थिए । बसका एक यात्री सुरेन्द्र यादव, जो मोतिहारी निवासी हुन्, उनका अनुसार बस एक सिलिन्डर लोड गरिएको ट्रकसँग आमनेसामने ठोक्किएको थियो।
सुरेन्द्र यादवका अनुसार दुर्घटना यति तीव्र थियो कि बस चालक सिटसहित सडकमा खसे र तुरुन्तै ज्यान गुमाए । ठोक्किएपछि बस झन्डै २०० मिटर पर इँटको ढिस्कोसँग ठोक्किएर रोकिएको थियो । त्यसपछि यात्रुहरूबीच हाहाकार मच्चिएको थियो ।
स्थानीय प्रहरी प्रशासन र स्वास्थ्यकर्मीहरू घटनास्थलमा तुरुन्तै पुगेका थिए । घाइतेहरूलाई नजिकको अस्पतालमा लगेर प्राथमिक उपचार दिइएको थियो । देवघर प्रशासनले मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घटनाको छानबिन सुरु गरिएको जनाएको छ ।
देवघरका एसडीओका अनुसार, “दुर्घटना अत्यन्त दुःखद छ । प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको ब्रेक फेल भएको हुन सक्ने आशंका गरिएको छ । विस्तृत अनुसन्धानपछि मात्र यकिन कारण थाहा हुनेछ।”
सुरेन्द्र यादव भने सामान्य घाइते भएका छन्। उनलाई अर्को बसद्वारा बासुकीनाथ धाम पठाइएको छ। तीर्थयात्रा अन्तर्गत उनीहरू बिहानै बाबा बैद्यनाथ मन्दिरमा जल अर्पण गरेर बासुकीनाथ दर्शनका लागि निस्किएका थिए।
यो सडक दुर्घटनाले सावधानीपूर्वक यात्रा र ट्राफिक नियमहरूको कडाइका साथ पालना गर्नु कति जरुरी छ भन्ने सन्देश दिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रशासनले पीडित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच घटना प्रति झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन सहितका शीर्ष व्यक्तित्वहरुले दुःख व्यक्त गरेका छन ।




