निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न, सयभन्दा बढीले लिए सेवा



महोत्तरी, साउन १३ । महोत्तरी जिल्लामा पहिलोपटक निःशुल्क मानसिक स्वास्थ्य शिविर आयोजना गरिएको छ । पिपरा गाउँपालिका–१, एकरहियास्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलवार सम्पन्न सो शिविरमा १०० भन्दा बढी मानसिक रोगीहरूले निःशुल्क उपचार सेवा लिएका छन्।

शिविर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको हो। उक्त शिविर स्थानीय समाजसेवी गजेन्द्र कुमार झाको संयोजनमा तथा शान्ति न्युरो साइक्याट्री क्लिनिक, जनकपुरधामको आयोजनामा गरिएको हो।
शिविरमा प्रादेशिक अस्पताल जनकपुरधामका मानसिक रोग विभाग प्रमुख डा. रोबिन झाको नेतृत्वमा चिकित्सक टोलीले बिरामीहरूको जाँच तथा परामर्श दिएका थिए। डा. झाका अनुसार मानसिक रोगको उपचारमा अत्यन्त महँगो मानिने औषधिहरू समेत शिविरमा निःशुल्क रूपमा वितरण गरिएको छ।
डा. झाले शिविरको उद्देश्यबारे जानकारी दिंदै भने, “सर्वसाधारणमा मानसिक रोगप्रति चेतना फैलाउने र उपचारप्रति विश्वास जगाउने लक्ष्यसहित हामीले यो शिविर सञ्चालन गरेका हौं। अब यस अभियानलाई मधेश प्रदेशभर निरन्तरता दिनेछौं।“
एकरहिया विद्यालयका प्रधानाध्यापक कमलेश कुमार झाले शिविर सफल पार्न सबैको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यो शिविरबाट एकरहियासहित वरपरका क्षेत्रका धेरै मानसिक रोगीहरूले लाभ लिएका छन्। मानसिक स्वास्थ्यजस्ता संवेदनशील विषयमा जनचेतना फैलाउन यस्ता कार्यक्रमहरू अत्यावश्यक छन्।“

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको