जनकपुरधाम, साउन १३ । मधेश कृषि विश्वविद्यालय राजविराज र भारतको प्रसिद्ध डा. राजेन्द्र प्रसाद केन्द्रिय कृषि विश्वविद्यालय, पुसा, समस्तीपुर, बिहार बीच सहकार्य सम्बन्धि एतिहासिक सम्झौता सम्पन्न भएको छ ।
साउन १२ गते सोमबार मधेश कृषि विश्वविद्यालयको प्रशासनिक भवनमा सम्पन्न एक कार्यक्रमका बीच दुबै विश्वविद्यालयका पदाधिकारीहरुले एतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौतामा कृषि सम्बन्धि उच्च शिक्षाको स्तरीयता अभिवृद्धि गर्ने, दुवै देशका विद्यार्थी र अनुसन्धानकर्ता आदानप्रदान गर्ने, प्रविधिको संरक्षण तथा व्यापारीकरणमा आपसी सहमति गर्ने, बौद्धिक सम्पति अधिकारको संरक्षण र आपसी सहमतिमा प्रयोग गर्ने , आधुनिक प्रविधिको साझा प्रयोग गर्ने तथा कृषकमुखी तालिम कार्यक्रमहरु संचालन गर्ने रहेको मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरले जनाएका छन ।
त्यसै गरि दुबै विश्वविद्यालयबीच कृषि क्षेत्रको बिकास र प्रबद्र्धनका लागि हुने प्रबुद्ध समुहको बैठकमा सहभागिता जनाउने, आधुनिक शिक्षा पद्धतिको बिकासमा हातेमालो गर्ने, आवश्यकता अनुसार बैठक, सेमिनार तथा कार्यशाला गोष्ठीहरु संचालन गर्ने लगायतका विषयहरु मुख्य रुपमा समेटिएको जनाइएको छ।
उक्त समझदारी कार्यक्रममा दुइ देशको बिबिधतासंग मेल खाने नयाँ प्रबिधि तथा अनुसन्धान साझेदारीमा बिशेष चासो व्यक्त गरिएको थियो । सम्झौताले दुई विश्वविद्यालय बिचको बर्तमान आशयहरुको अभिलेखको रुपमा रहेको भविष्यको मार्गदर्शक र आधारशिला बन्ने विश्वास गरिएको छ ।
मधेश प्रदेश सरकारको पहलमा मिति २०७८ साल मङ्सिर २७ गते स्थापना गरिएको मधेश कृषि विश्वविद्यालय, राजविराज र भारत सरकारद्वारा इम्पेरियल एग्रिकल्चरल रिसर्च इन्स्टिच्युटको रुपमा इस्वी सम्बंत १९०५ मा प्रथम कृषि संस्थान स्थापना भई इस्वी सम्बंत २०१६ मा भारत सरकारद्वारा केन्द्रिय विश्वविद्यालयको रुपमा मान्यता पाएको डा.राजेन्द्र प्रसाद केन्द्रिय विश्वविद्यालय बिचको ऐतिहासिक समझदारीले दुई देशबीचको कृषि विज्ञान सम्बन्धि सहकार्यमा टेवा पुग्ने विश्वास लिइएको छ।
सम्झौता समारोहमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतो, रजिस्ट्रार डा. श्रीभगवान ठाकुर तथा डा. राजेन्द्र प्रसाद केन्द्रिय कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. मृत्युन्जय कुमार र शिक्षा निर्देशक डा. यु. के. बेहेरा प्रमुख रुपमा उपस्थित थिए भने मधेश कृषि विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
डा. राजेन्द्र प्रसाद केन्द्रिय कृषि विश्वविद्यालय, समस्तीपुरबाट कृषि स्नातकोत्तर तहमा आफ्नो अध्ययन पुरा गरेका मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरको बिगत एक वर्षदेखिको निरन्तर पहलका कारण समझदारी पत्र हस्ताक्षर कार्यक्रमले मुर्त रुप लिन सकेको हो । सो सम्झौता पत्र भारतको कृषि अनुसन्धान निर्देशनालय, नयाँ दिल्लीबाट समेत स्वीकृति लिनुपर्ने भएकोले लामो समय लागेको डा. ठाकुरले बताए ।
भारत नेपाल बिचको शैक्षिक सम्बन्धलाई बलियो बनाउदै थप उचाइमा पुर्याउने लक्ष्य र उद्देश्यका साथ गरिएको यो सम्झौता पछी डा. राजेन्द्र प्रसाद केन्द्रिय कृषि विश्वविद्यालयको उच्चस्तरीय प्रयोगशाला, अनुसन्धान प्रणाली, जैविक प्रबिधि लगायतका उन्नत प्रबिधिहरु मधेश प्रदेशमा समेत परीक्षण र प्रयोग हुने विश्वास गरिएको छ । दुवै विश्वविद्यालयले आआफ्नो जिम्मेवारी उच्चतम पेशागत इमानदारी र आचारसंहिता सहित पुरा गर्दै मधेश प्रदेशमा कृषि बिकासको सम्भावनालाई विश्वस्तरमा पुर्याउन कोशे ढुंगाको रुपमा स्थापित हुने छ । दुवै विश्वविद्यालयका प्रमुख पदाधिकारीहरुले यस समझदारीलाई केवल औपचारिक कागजी सम्झौता नभई आगामी पुस्ताको कृषि शिक्षा, अनुसन्धान र कृषक सम्वृद्धिका लागि “संयुक्त प्रतिबद्धता“ को रुपमा मुल्यांकन समेत गरेका छन् ।
कार्यक्रमको समापनमा वक्ताहरुले मधेशको भविष्यमा शिक्षा, अनुसन्धान र किसानको जीवनस्तर स्तरीय रुपमा उकास्न फलदायी हुने विश्वास व्यक्त गरेका थिए । यस अघि मधेश कृषि विश्वविद्यालयले नेपाल कृषि अनुसन्धान परिषद, खुमलटार लगायत अन्य विश्वविद्यालय तथा संघसंस्थाहरुसंग सम्झौता गरि सकेको छ ।






