गाजा क्षेत्रमा जारी मानवीय संकटबारे ट्रम्पद्वारा चिन्ता व्यक्त



एजेन्सी, साउन १३ । गाजा क्षेत्रमा जारी मानवीय संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर चिन्ता व्यक्त गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको “गाजामा भोकमरी छैन” भन्ने दाबीप्रति असहमति जनाउँदै ट्रम्पले गाजावासीलाई पर्याप्त खाना र राहत सामग्री उपलब्ध गराउने जिम्मेवारी नेतन्याहूको भएको बताए ।

ब्रिटेन भ्रमणको क्रममा प्रधानमन्त्री किएर स्टार्मरसँगको संयुक्त संवादमा ट्रम्पले भने, “गाजामा हाल जुन स्थिति देखिएको छ, त्यो गम्भीर मानवीय संकट हो । यदि इजरायलले नियन्त्रणमा लिएको क्षेत्र हो भने, त्यहाँको जनतालाई खाना, पानी र स्वास्थ्य सेवा पु¥याउने दायित्व पनि इजरायलकै हो ।”

स्टार्मरले पनि गाजाको अवस्थालाई ‘डरावना र अमानवीय’ बताउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गराउन आग्रह गरे।

यसैबीच, सोमबार इजरायली सेनाले गाजामा फेरि आक्रमण गरेको छ । जसमा ३६ जना मारिएको पुष्टि गरिएको छ । गाजाको विभिन्न भागमा यसअघि घोषणा गरिएको १० घण्टे युद्धविरामको बीचमै हवाई आक्रमण भएको जनाइएको छ।
इजरायली घोषणाअनुसार युएई र जोर्डनका विमानले गाजाको तीन क्षेत्रमा राहत सामग्री वितरण गर्ने व्यवस्था गरिएको छ । सोमबार मात्रै दुई विमानमार्फत १७ टन राहत सामग्री हावाबाट झारिएको हो।

तर संयुक्त राष्ट्रसंघले राहत वितरणको यस्तो प्रणालीलाई अपूर्ण र कम प्रभावकारी भनेको छ। “हावाबाट राहत सामग्री झार्दा सीमित मात्रामा मात्र सहयोग पुग्छ, स्थायी समाधान चाहिन्छ,” यूएनका मानवीय सहायता विभागले जनाएको छ।
राहतका लागि मिस्रको सीमाबाट गाजामा १८० वटा ट्रक प्रवेश गरेका छन्। यी ट्रकले खाद्यान्न, पानी, औषधी र अन्य आवश्यक सामग्री पु¥याएका छन्। अमेरिकास्थित गैर–सरकारी संस्था जीएचएफले गाजाका विभिन्न शिविरहरूमा खाना वितरण गरिरहेको छ।

गाजावासीहरू लामो समयदेखि विद्युत्, इन्धन, स्वास्थ्य सेवा र खाद्य वस्तुको अभाव झेलिरहेका छन्। हजारौँ बालबालिका कुपोषणको चपेटामा छन्। यद्यपि राहत सामग्री वितरण भइरहेको छ, तर जनसंख्याको अनुपातमा ती अत्यन्तै न्यून छन्।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार ०९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको