एजेन्सी, साउन १४ । बिहार विधानसभा नजिकिदै गर्दा विकासशील इंसान पार्टी (भिपिएन)का प्रमुख मुकेश सहनी ले सिट बाँडफाँटलाई लिएर ठुलो घोषणा गरेको छ ।
बिहारमा आगामी केही महिनाभित्र हुने विधानसभा चुनावको चर्चा तातिएको बेला राजनीतिक दलहरू निर्वाचन तयारीमा जुटिसकेका छन् । यसै क्रममा भिपिएनले सिट बाँडफाँटको विषयमा गरेको घोषणाले बिपक्षी गठबन्धनमा नयाँ तरंग सृजना गरेको छ।
सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत मुकेश सहनीले आफ्नो पार्टीको चुनावी एजेन्डा सार्वजनिक गर्दै लेखेका छन्, “बिहारमा विकासशील इंसान पार्टी ६० सिटमा चुनाव लड्नेछ । बाँकी सिटमा हाम्रो गठबन्धनका साथीहरू उम्मेदवार उठाउनेछन् । यो हाम्रो पार्टीको पहिलो एजेन्डा हो।“
सहनीको यस घोषणाले महागठबन्धनमा हलचल बढाएको छ। खासगरी तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई यसको सिधा असर पर्ने देखिन्छ । सहनी हाल इण्डिया गठबन्धन सँग आवद्ध छन्, तर उनी आफ्नै सर्तमा चुनाव लड्ने रणनीतिमा देखिन्छन् । उनको उपस्थिति खासगरी मल्लाह समुदायमा गहिरो छ, जसले प्रदेशका धेरै सिटमा प्रभाव पार्न सक्छ।
केही समयअघि सहनीले विपक्षी नेता तेजस्वी यादवप्रति समर्थन जनाउँदै भनेका थिए, “तेजस्वी यादव हाम्रो सानो भाई हुन्, उनी राष्ट्रिय समन्वय समितिका अध्यक्ष पनि हुन् । उनी जुन निर्णय लिन्छन्, हामी सँगै हुनेछौं।“
तर पछिल्लो घोषणाले उनी स्वतन्त्र निर्णयमा पनि उत्रने संकेत दिएका छन्। यस्तो अवस्थामा वीआईपी र आरजेडीबीच तालमेल कति रहन्छ भन्ने प्रश्न उठ्न थालेको छ।
सहनीले चुनाव आयोगप्रति पनि गम्भीर प्रश्न उठाएका छन्। उनले भने, “चुनाव लोकतन्त्रको महापर्व हो। तर यदि निर्वाचन आयोगले निष्पक्ष नभई कुनै पार्टीलाई जिताउने प्रयास गर्छ भने त्यो लोकतन्त्रको हत्या हो। यस्तो अवस्थामा त देशमा चुनाव नै नभएको राम्रो।“
मुकेश सहनीको ६० सिटमा चुनाव लड्ने घोषणाले बिहारको आगामी विधानसभा चुनावको समीकरण बदल्न सक्ने देखिन्छ । एकातर्फ उनी तेजस्वी यादवलाई समर्थन जनाउने बताउँछन्, अर्कोतर्फ गठबन्धनलाई सर्त राख्ने संकेत दिन्छन ्।




