एजेन्सी, साउन १४ । रूसको सुदूरपूर्वी कमचटका प्रायद्वीपमा बुधबार बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) अनुसार यो भूकम्प सन् १९५२ पछि यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क–कमचट्स्कीको दक्षिण–पूर्व भागमा रहेको जनाइएको छ।
भूकम्पपछि प्रशान्त क्षेत्रभरि सुनामीको उच्च सतर्कता जारी गरिएको छ। अमेरिका, जापान, न्यूजील्याण्ड, फिलिपिन्स, इक्वाडोर, हवाई, अलास्का र इन्डोनेसिया सम्मका समुद्री तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भने अनुसार, रूस र इक्वाडोरका केही तटीय क्षेत्रमा ३ मिटरभन्दा अग्ला छालहरू आउन सक्नेछ। हवाईमा सायरन बजाइएको छ र जनतालाई उच्च स्थानमा जान आग्रह गरिएको छ।
युएसजीएसका अनुसार, मुख्य ८.७ म्याग्निच्युडको भूकम्प बाहेक, दिनभर ५.४ देखि ६.९ म्याग्निच्युड बीचका दर्जनौं पराकम्पहरू कमचटका क्षेत्रमा मापन गरिएका छन् । यी पराकम्पहरूले थप क्षति पु¥याउने सम्भावना रहेकाले स्थानीय प्रशासन सतर्क बनेको छ।
जापानले टोक्यो खाडी सहित तटीय क्षेत्रमा चेतावनी जारी गरेको छ । न्यूजील्याण्डको आपतकालीन व्यवस्थापन एजेन्सीले समुद्रतटीय क्षेत्रका बासिन्दालाई ‘असामान्य र तीव्र धाराहरू’ बाट सतर्क रहन आग्रह गरेको छ । यद्यपि तत्कालको लागि पूर्ण निकासी आदेश भने दिइएको छैन।
फिलिपिन्सको फिलोभोल्कसले पनि प्रशान्त सागर सिमाना नजिकका तटीय बासिन्दाहरूलाई समुद्र किनारबाट टाढा बस्न निर्देशन दिएको छ। यहाँ १ मिटरभन्दा कम उचाइको लहर आउन सक्ने पूर्वानुमान गरिएको छ।
अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिंगटन, तथा अलास्काका केही भागहरूमा सुनामी एडभाइजरी जारी गरिएको छ। अमेरिकी राष्ट्रिय मौसम सेवा ले क्यालिफोर्निया–मेक्सिको सीमादेखि अलास्काको चिगनिक बेसम्म सुनामी वॉच जारी गरेको हो।
इन्डोनेसियाको भूभौतिकी एजेन्सीले पापुआ, उत्तरी मालुकु र गोरोंटालो क्षेत्रका तटीय भागमा ०.५ मिटरभन्दा कम उचाइको लहर आउन सक्ने बताएको छ। स्थानीयलाई सतर्क रहन अपील गरिएको छ।






