एजेन्सी,
पटना, साउन १५ । बिहार विपक्षीदलका नेता तेजस्वी यादवले बिहारको डबल इन्जिनको सरकार मध्ये एउटा भ्रष्टाचार र अर्को अपराधमा लिप्त रहेको आरोप लगाएको छ।
पटना स्थित आफनो आवासमा महागठबन्धनको समन्वय समिति (को–अर्डिनेशन कमिटी) को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा तेजस्वीले बिहार सरकारमाथि कडा प्रहार गर्दै भाजपा र जदयु माथि आक्रमण गरेका हुन ।
उनले बिहार सरकारले ७०,००० करोड रुपैयाँको कुनै लेखाजोखा नदिएको आरोप लगाउदै उनले भने, “बिहार सरकार दुईवटा इन्जिनले चल्ने भन्छ, तर एउटा भ्रष्टाचारमा र अर्को अपराधमा लागेको छ। यो सरकार ’डबल इन्जिन’को होइन, डबल घोटालाको सरकार हो।“
तेजस्वीले राज्य सरकारलाई ‘नकल्सी सरकार’ को संज्ञा दिँदै भने कि सरकार आफैंसँग कुनै योजना छैन, उनीहरूले उठाएका मुद्दा चोरिएर पछि सरकारद्वारा कार्यान्वयन गरिन्छ । “हामीले उठाएका मुद्दा पछि सरकारले अपनाउँछ । यस्तो सरकारलाई जनताले चिन्न थालेका छन्,“ तेजस्वीले दाबी गरे।
तेजस्वी यादवले राज्यभर २५०० महिला प्रतिनिधिहरूलाई आन्दोलनमा जोड्ने निर्णय भएको पनि जानकारी गराए। उनले महिला नेतृत्वलाई सशक्त बनाउन र उनीहरूको आवाजलाई मुख्यधारमा ल्याउने योजना रहेको बताए।
तेजस्वी यादवले घोषणा गरे कि रक्षाबन्धनपछि महागठबन्धनले राज्यभर एक व्यापक जनअभियान सुरु गर्नेछ। उनले ९ प्रमण्डलहरूमा स्वयम् रैली गर्ने जानकारी दिँदै कांग्रेस नेता राहुल गांधी पनि केही ¥यालीहरूमा सहभागी हुने समेत बताए ।
उनले भने, “अगस्त महिना क्रान्तिको महिना हो। अब हामी जनता माझ पुग्नेछौं र सरकारलाई सीधा चुनौती दिनेछौं।”
तेजस्वी यादवले बिहार राज्य शिक्षा, रोजगारी, अपराध नियन्त्रण र जनसुरक्षाको मामलामा पूर्णतः असफल भएको बताए ।
उनले राज्यको बेरोजगारी दर र युवाहरूको पलायनबारे पनि गम्भीर चिन्ता व्यक्त गरे।
महागठबन्धनको तर्फबाट आन्दोलनका रूट र मिति चाँडै सार्वजनिक गरिने पनि तेजस्वीले जानकारी दिए। उनले आम जनतालाई आन्दोलनमा साथ दिन आह्वान गरे र भनें, “अब यो सरकारको पोल खुल्ने बेला आएको छ।”




