फर्जी चिकित्सकको भरमा जलेश्वरका डेन्टल क्लिनिक



जलेश्वर, साउन १५ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरका अधिकांश डेन्टल क्लिनिकमा फर्जी चिकित्सकहरुले सेवा दिई रहेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलले विहीबार गरेको अनुगमनमा चिकित्सकको बोर्ड झुण्डियाइएको पाइए पनि सो क्लिनिकहरुमा फर्जी चिकित्सकले चेकजाँच गरिरहेको पाइएको छ ।

नेपाल मेडिकल काउन्सिलका सदस्य तथा डेन्टल एशोसिएशनका केन्द्रीय अध्यक्ष डा. अजयकुमार साहको नेतृत्वमा गरिएको अनुगमनमा विश्वास डेन्टल, जलेश्वर स्माइल डेन्टल केयर, शिव शक्ति मेडिकल र स्वामी श्री डेन्टल क्लिनिक, जलेश्वर डेन्टल लगायतमा जनकपुरधामका चिकित्सकहरुको बोर्ड झुण्डियाइए पनि त्यसमा फर्जी डाक्टरहरुले काम गरिरहेको पाइएको छ ।

जलेश्वर स्थित जिल्ला प्रशासन कार्यालय महोत्तरीको गेटमै सञ्चालमा रहेको विश्वास डेन्टलमा जनकपुरधामका डा. रविकुमार पाण्डेय र डा. राजिव शर्माको नाम लेखिएको फ्लैक्स बोर्ड लगाइएको छ । तर, त्यस क्लिनिकमा ती दुवै डाक्टर काम गरिरहेका छैनन् । सो क्लिनिकका सञ्चालक दिलीपचन्द्र विश्वास आफैले विरामीहरुको चेकजाँच गर्ने गरेका छन् । १५ दिन देखि आफू कार्यगरिरहेकी डा. श्रुति साह बताउँछिन् तर, उनको त्यो डेन्टल संग नत कुनै एग्रिमेन्ट नै भएको छ नत कुनै नियुक्ति पत्रनै डाक्टर साहलाई दिइएको छ । विश्वास डेन्टल क्लिनिकका सञ्चाललाई सात दिन भित्र मेडिकल काउन्सिलमा आउन आदेश दिइएको काउन्सिलका सदस्य डा. साहले जानकारी दिए ।

त्यस्तै जलेश्वर स्माइल डेन्टलमा करिव ६ वटा डाक्टरले सेवा दिने गरेको भन्दै सञ्चालकले विरामी ढाट्ने गरेका छन् । जलेश्वर स्माइल डेन्टलमा पनि सञ्चालक विरेन्द्रकुमार चौधरी विरामीको चेकजाँच गर्दैगर्दा समातिएका थिए । सो क्लिनिकमा डा. राजुकुमार साह, डा. संजीव मिश्रा, डा. अनिलकुमार यादव, डा. भावना यादव र डा. सौरभ कर्ण कार्यरत्त रहेको दावी गरेका छन् । तर, सो क्लिनिकमा कुनै डाक्टर काम गरिरहेको पाइएको थिएन् । उनीहरुको डकुमेन्टमा उनीहरुको नाम रहे पनि उनीहरु सो क्लिनिकमा नभई अन्यन्त्रै काम गरिरहेका छन् । त्यस्तै शिव शक्ति मेडिकल, स्वामी श्री डेन्टल क्लिनिक र जलेश्वर डेन्टल क्लिनिकका सञ्चालकहरु अनुगमनको डरले फरार भएका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही दिन पूर्व मधेश प्रदेशका अस्पतालहरुको अनुगमन गर्दा अधिकांश अस्पतालहरु फर्जी पाइएको थियो भने ती अस्पतालहरुलाई बन्द गराइएको थियो । तर, स्थानीय सरकारहरुले ती अस्पतालहरु सञ्चालमा ल्याएका छन् । मापदण्ड विपरीत सञ्चालन तथा फर्जी चिकित्सकको भरमा चलि रहेको सो क्लिनिकहरुमा दैनिक सयौं विरामीहरु ठगिने गरेका छन् ।

नेपाल मेडिकल एशोसिएशनका सदस्य तथा नेपाल डेन्टल एशोसिएशसनका केन्द्रीय अध्यक्ष डा. साहले फर्जी चिकित्सकहरुको भरमा चल्ने ती डेन्टल क्लिनिकहरुलाई कारवाही गरी मापदण्डको परिधि भित्र ल्याउने प्रतिवद्धता जनाएका छन् । उनले भने–‘जुन डाक्टर काम गर्दै छन् त्यसको नाम हुनु पर्यो जो छैन् त्यसको नाममा क्लिनिक सञ्चालन गर्नु भनेको विरामीको स्वास्थ्य संग खेलवाड गर्नु हो यो एशोसिएसनलाई मान्य हुँदैन् ।’

जलेश्वरमा दर्जनौ डेन्टल क्लिनिकमा नाम डाक्टरको भए पनि टेक्निसियनहरुले सो क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

 

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहिवार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको