बिराटनगर, साउन १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ, अहंकार र गलत नीतिका कारण देशले गहिरो पीडा भोग्नुपरेको आरोप लगाएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले अहिलेको सरकार पूर्ण रूपमा असफल भएको दाबी गरे। उनले भने, “यो सरकार सबै हिसाबले असफल छ। एक जना व्यक्तिको दम्भ, अहंकार, गलत नीति र कार्यशैलीका कारण पूरै देश गहिरो पीडामा छ । जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, देशले राहत पाउँदैन।”
उनले ओलीको राजनीतिक शैलीले न केवल सरकारमा अवरोध सिर्जना गरेको, तर एमाले पार्टीभित्र पनि विघटन र तमासाको अवस्था निम्त्याएको टिप्पणी गरे। उनका अनुसार, ओलीको व्यवहार र सोचले देशको कम्युनिस्ट आन्दोलनलाई कमजोर तुल्याउने खतरा छ।
“एमालेभित्र तमासा हेर्दै जानुस्, केपी ओलीले आन्दोलनलाई सिध्याएरै छोड्छन्,” उनले भने, “यो राष्ट्रकै लागि ठूलो नोक्सान हुनेछ।”
पूर्वप्रधानमन्त्री नेपालले आफूविरुद्ध उठाइएको भ्रष्टाचारको मुद्दा राजनीतिक पूर्वाग्रह र प्रतिशोध मात्रै भएको जिकिर गरे।
उनका अनुसार उक्त निर्णय मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयमा आधारित थियो र त्यसबाट राज्यलाई कुनै नोक्सानी पुगेको छैन।
“मेरो केस कुनै भ्रष्टाचारको मुद्दा नै होइन। नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन। यो सरासर राजनीतिक बदला हो,” उनले दाबी गरे।
उनले स्पष्ट पारे कि आफ्नो राजनीतिक जीवनमा कुनै आर्थिक अनियमितता नगरेको प्रमाणित छ, र ‘जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन’ भन्ने विश्वास उनले व्यक्त गरे।
नेपालले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताको विषयमा कुनै औपचारिक छलफल नभएको बताए।
यद्यपि, दुवै दलबीच सहकार्यको सम्भावना भने जीवित रहेको उनले स्पष्ट गरे।
“अहिले एकीकरणको कुरा भएकै छैन। अहिले सहकार्यको कुरा भएको छ,” उनले भने, “समाजवादी मोर्चालाई निरन्तरता दिने र आपसी विश्वासको आधारमा सम्बन्ध मजबुत बनाउने छलफल चलिरहेको छ।”
नेपालले समाजवादी मोर्चालाई एक विकल्पको रूपमा अगाडि बढाउँदै, बिस्तारै दलहरूबीचको एकता र विश्वासको जग निर्माण गरिने संकेत पनि दिए।
माधवकुमार नेपालको अभिव्यक्ति एमाले र माओवादी केन्द्रबीचको राजनीतिक समीकरण तथा आगामी सम्भावित गठबन्धनको संकेतका रूपमा हेरिएको छ। एकातिर उनले ओलीमाथि कडा प्रहार गरेका छन् भने अर्कातिर राजनीतिक रूपमा आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेका छन्।




