काठमाडौं, साउन १७ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको असहमतिको बीचमा पनि आफू कसैले माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी अध्यक्ष माधव कुमार नेपालसँग २०३२ सालदेखि सहकार्य भए पनि आफू सन्तुष्ट हुन नसकेको बताएका छन्।
खनालले भने, “पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ। मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क दिएर हिँड्दिनँ।”
उनको यो भनाइ अध्यक्ष नेपालले दिएको पछिल्लो अन्तर्वार्तासँग सम्बन्धित देखिन्छ। नेपालले हालै एक अन्तर्वार्तामा खनालको भूमिकामाथि संकेत गर्दै पार्टीबाट अलग हुन सुझाव दिएका थिए। यसैलाई खनालले सार्वजनिक रुपमा अस्वीकार गर्दै स्पष्ट पारेका हुन्।
खनालले आफू माधव नेपालसँग लामो समयदेखि सहकार्यमा रहे पनि पार्टी नेतृत्व र व्यवहारबाट सन्तुष्ट हुन नसकेको बताए। “अध्यक्ष नेपालसँग मेरो सहकार्य २०३२ सालदेखि हो। उहाँ मेरो नेता, उहाँले निर्देशन दिएर मैले काम गर्नुपर्ने भन्ने मैले कहिल्यै सोचिनँ। मैले उहाँलाई पार्टी अध्यक्ष बन्न आग्रह गरेँ। मलाई कहिल्यै पदको लोभ थिएन,” खनालले भने।
उनले थपे, “अध्ययन, व्यवहार र सोचको हिसाबले उहाँ परिपक्व हुनुहुन्छ होला भन्ने ठानेँ। तर, अहिलेसम्म आउँदा सन्तुष्ट हुन सकिएन।”
खनालले पार्टीभित्रको असहमति कुनै व्यक्तिगत झगडा नभई विचारको फरकबाट उत्पन्न भएको दाबी गरे। “यो दुई जनाबीचको झगडा होइन। यो वैज्ञानिक समाजवादको बाटो समात्ने कि लोकतान्त्रिक समाजवादतर्फ जाने भन्ने मुख्य विवाद हो,” उनले भने।
खनालको भनाइले नेकपा एकीकृत समाजवादीभित्रको आन्तरिक मतभेद स्पष्ट पारेको छ। अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालबीच विचार र नेतृत्वप्रतिको दृष्टिकोणमा गहिरो भिन्नता देखिएको संकेत गर्छ। यद्यपि, खनालले पार्टी नछाड्ने र विचारको लडाइँ लोकतान्त्रिक ढंगबाट अघि बढाउने अडान राखेका छन्।
यसअघि पनि उनले एमालेबाट विभाजनको निर्णयबारे पुनर्विचार गर्नुपर्ने धारणा सार्वजनिक रुपमा राखेका थिए। अबको दिनमा पार्टीभित्रको आन्तरिक बहस कता मोडिन्छ भन्नेबारे चासो बढेको छ।




