एजेन्सी, साउन २१ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा पट्टीमा पूर्ण सैन्य नियन्त्रणको पक्षमा समर्थन जनाएका छन्। गाजामा २२ महिनादेखि जारी युद्धलाई अन्त्य गर्न तथा नयाँ रणनीति तयार पार्नका लागि देशका वरिष्ठ सुरक्षा अधिकारीहरूसँग छलफलको क्रममा गाजामा पूर्ण कब्जाको समर्थन गरेका छन् ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेतन्याहूले झण्डै तीन घण्टा लामो सुरक्षा बैठक गरेका थिए। उक्त बैठकमा इजरायली सेनाका प्रमुख इयाल जामिरले गाजामा जारी अभियानलाई निरन्तरता दिने विभिन्न विकल्पहरू प्रस्तुत गरेका थिए।
हालसम्म गाजामा युद्धविरामका लागि गरिएको मध्यस्थता प्रयासहरू असफल भएका छन्। भोकमरी, कुपोषण र हिंसाका कारण सर्वसाधारणको अवस्था भयावह बन्दै गएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै आठ जना मानिसले भोक वा कुपोषणका कारण ज्यान गुमाएका छन्। यसबाहेक ७९ जना इजरायली गोलीबारीमा मारिएको जनाइएको छ।
युद्ध सुरु भएदेखि हालसम्म इजरायली हमलामा ६१,००० भन्दा बढी फलस्तीनी नागरिकको मृत्यु भइसकेको बताइएको छ। यति ठूलो मानवीय क्षतिको बाबजुद पनि दुबै पक्षबीच शान्ति वार्ता सफल हुन सकेको छैन।
सुरक्षा बैठकमा इजरायलका रक्षा मन्त्री इजरायल काट्ज, रणनीतिक मामिलाका मन्त्री र नेतन्याहूका विश्वासपात्र रान डर्मर पनि सहभागी थिए। उनीहरूले आगामी क्याबिनेट बैठकमा प्रस्तुत गरिने रणनीतिमा अन्तिम निर्णय लिने तयारी गरिरहेका छन्।
इजरायली टेलिभिजन च्यानलले प्रधानमन्त्री कार्यालयका एक अधिकारीको हवाला दिँदै जनाएको छ कि नेतन्याहू गाजाको सम्पूर्ण क्षेत्रमा पुनः नियन्त्रण लिने दिशातर्फ अघि बढिरहेका छन्। यदि यस्तो भयो भने सन् २००५ मा गाजाबाट इजरायलले फिर्ता लिएको निर्णय उल्टिनेछ। यद्यपि, सीमामा भने इजरायलको नियन्त्रण यथावत् रहनेछ।
प्राप्त रिपोर्टहरू अनुसार नेतन्याहू गाजामा लामो समयका लागि कब्जा गर्न चाहन्छन् वा हमासलाई हटाएर इजरायली बन्धकहरूलाई मुक्त गराउने उद्देश्यले छोटो समयको सैनिक अभियान चाहन्छन् भन्ने कुरा अझै स्पष्ट छैन। दक्षिणपन्थी दलहरूले हमासको उदयलाई गाजाको अस्थिरताको मुख्य कारण मानिरहेका छन्।
प्रधानमन्त्री कार्यालयले भने यसबारे विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेको छ।




