तेज प्रताप यादवद्वारा पाँच दलीय गठबन्धनको घोषणा

’टीम तेज प्रताप’ मार्फत सबै सिटमा चुनाव लड्ने तयारी


एजेन्सी
पटना, साउन २१ । हसनपुर क्षेत्रका विधायक तथा राष्ट्रिय जनता दल (राजद) का सुप्रीमो लालू प्रसाद यादवका जेठा सुपुत्र तेज प्रताप यादवले आगामी बिहार विधानसभा निर्वाचन २०२५ का लागि पाँच दलीय गठबन्धनको घोषणा गरेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विकास वञ्चित इंसान पार्टी (भिभिआइपी) सहित पाँच वटा दल मिलेर ‘टीम तेज प्रताप’ नामक नयाँ राजनीतिक मोर्चा बनाएको घोषणा गरे।

तेज प्रताप यादवले भने, “हामी सबै सिटमा गठबन्धनसहित चुनाव लड्नेछौँ। केही मानिसहरू सोचिरहेका छन् कि हामी टुट्छौं, तर हाम्रो एकता नै हाम्रो बल हो। हामीलाई तोड्न प्रयास गर्नेहरू थुप्रै छन्, तर हामीलाई समर्थन गर्नेहरूको कमी छैन।“

उनले थपे, “जसले दुःखको समयमा साथ दिएका छन्, ती भगवानसरह हुन्। हामी तिनीहरूको ऋणी छौँ। हाम्रो टीम अब मजबुत बनिसकेको छ।“
गठबन्धनमा सहभागी विकास वञ्चित इंसान पार्टी (भिभिआइपी) का अध्यक्ष प्रदीप निषादले भने, “हामी सँगै चुनाव लड्नेछौँ र विजय पनि हासिल गर्नेछौँ। बिहारको राजनीतिक परिदृश्यमा अब परिवर्तन निश्चित छ।“

तेज प्रताप यादवले पत्रकार सम्मेलनमा आफ्नै दल राजद र कांग्रेसलाई पनि ‘टीम तेज प्रताप’ मा आउन प्रस्ताव राखे। उनले भने, “यदि राजद र कांग्रेस हाम्रो सामाजिक न्यायको लडाइँमा हामीसँग आउन चाहन्छन् भने हामी स्वागत गर्दछौँ। किनभने हाम्रो लडाइँ कुनै व्यक्ति विशेषको नभई सामाजिक परिवर्तनको हो।“

तेज प्रताप यादवले आफू महुआ क्षेत्रबाट चुनाव लड्ने घोषणा पनि गरे। उनले भने, “मैले महुआको विकासमा योगदान पु¥याएको छु। त्यसैले म सामाजिक न्याय र संपूर्ण परिवर्तनका लागि फेरि त्यहीँबाट उम्मेदवारी दिनेछु।“

उनका अनुसार ‘टीम तेज प्रताप’ मा राकेश कुमार, अवनीश कुमार, छोटे लाल साहनी, मोतीलाल राय, शंकर चौधरी, र शिवेन्द्र निषादजस्ता नेताहरूको समर्थन पनि छ।

बिहारको राजनीति फेरि चर्किन थालेको छ, र तेज प्रताप यादवको यो कदमले राजद भित्रको शक्ति संघर्षलाई पनि उजागर गरेको छ। आगामी चुनावमा उनले कस्तो प्रभाव पार्नेछन्, त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधवार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको