श्याम कुमार ठाकुर
सिरहा, साउन २३ । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–१० स्थित मन्हर्वा चौक नजिकै पूर्व–पश्चिम लोकमार्गमा बस र ट्रेक्टर एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
दुर्घटना आज दिउँसो करिब ३:३० बजेको समयमा भएको हो। धनगढीबाट उत्तराहिनी जल भर्न जाँदै गरेको ना.१ त ६४५० नम्बरको ट्रेक्टरलाई बिराटनगरबाट मलगवा जाँदै गरेको ना.६ ख ७२२७ नम्बरको सुपर बर्षा डिलक्स यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार, ट्रेक्टर सडकको दक्षिण पट्टि रोकिएको अवस्थामा त्यसको ट्रेलर पल्टिएको थियो। सोही क्रममा तीव्र गतिमा आएको बसले सिधै ठक्कर दिँदा बसका चालक घाइते भएका छन्। बस चालकको बाँया आँखा भौँमाथि चोट लागेपछि उनलाई कमलामाई पोलिक्लिनिक, बन्दिपुरमा उपचार गरिएको छ।
त्यस्तै, ट्रेक्टरमा सवार तीन जना यात्रु घाइते भएका छन्। उनीहरूको फुल कुमारी महतो मेमोरीयल अस्पताल, कर्जन्हामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।




