अजीत डोभालको पुतिनसँग भेटवार्ता : रक्षा, ऊर्जा र रणनीतिक साझेदारीबारे छलफल



एजेन्सी,
मस्को,साउन २२ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल ले रुसी राष्ट्रपति भ्लादिमिर पुतिनसँग मस्कोमा महत्वपूर्ण भेटवार्ता गरेका छन् । यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि रूसी तेल खरिदको कारण दोब्बर ट्यारिफ लगाउने निर्णय गरेकै भोलिपल्ट भएको हो, जसले यस भेटलाई अझै रणनीतिक दृष्टिले महत्वपूर्ण बनाएको छ।

अजीत डोभाल ले मस्कोमा रूसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुसँग विस्तृत वार्तापछि क्रेमलिनमा राष्ट्रपति पुतिनसँग भेट गरेका हुन् । भेटमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, ऊर्जा व्यापार, रक्षा सहकार्य, तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन छलफल भएको बताइएको छ।

डोभालले भने, “रूससँग भारतको सम्बन्ध विशेष, ऐतिहासिक र आपसी सम्मानमा आधारित छ। राष्ट्रपति पुतिनको आगामी भारत भ्रमणबारे सुनेर हामी उत्साहित छौँ।”

यो भेटवार्ता अमेरिका र भारतबीच उत्पन्न ट्यारिफ विवादको संवेदनशील समयमा भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि रूसी तेल खरिद गरेको भन्दै अतिरिक्त २५% शुल्क लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। यसअघि नै २५% शुल्क लागिरहेको अवस्थामा अब भारतीय वस्तुहरूमा कुल ५०% ट्यारिफ लाग्नेछ।

साथै, ट्रम्पले पुतिनलाई युक्रेन युद्ध अन्त्य गर्न कडा चेतावनी दिँदै भनेका छन् कि यदि आक्रामकता जारी रह्यो भने रूसले थप कडा अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्नेछ।

भारतको विदेश मन्त्रालयका स्रोतका अनुसार, राष्ट्रपति पुतिनको भारत भ्रमण निकट भविष्यमा तय भइसकेको छ, यद्यपि अगस्त महिनाभित्र भ्रमण हुने सम्भावना कम रहेको जनाइएको छ। हाल पुतिन स्वयं र भारतीय कूटनीति दुवै व्यस्त अवस्थामा रहेका छन्।
यसैबीच, अर्को साता पुतिन र ट्रम्पबीच संयुक्त अरब एमिरातमा सम्भावित शिखर सम्मेलनको तयारी भइरहेको समाचार पनि मस्कोबाट आएको छ।

रक्षा, ऊर्जा र अन्तर्राष्ट्रिय राजनीति सम्बन्धी महत्वपूर्ण विषयहरूमा भारत–रूसबीच संवाद जारी रहेको सन्देश यो भेटवार्ताले दिएको छ। अजीत डोभालले भारतको पक्षबाट स्पष्ट पारे कि भारत रूससँगको सम्बन्धलाई ‘रणनीतिक साझेदारी’को रूपमा हेर्छ र कुनै पनि बाह्य दबाबमा आएर निर्णय लिँदैन।

राष्ट्रपति पुतिन डिसेम्बर २०२१ मा एकदिने भारत भ्रमणमा आएका थिए। त्यसपछिको फेब्रुअरी २०२२ मा युक्रेन युद्ध सुरु भएयता उनले सीमित देशहरू मात्र भ्रमण गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ०७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको