नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल



काठमाडौं , साउन २३ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच राजनीतिक भेटवार्ता सम्पन्न भएको छ।

हालै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कम्युनिष्ट पार्टी एकताको पहल गर्ने निर्णय गरेसँगै, त्यसलाई कार्यान्वयन गर्ने क्रममा श्रेष्ठले भुसालसँग हात्तिवनस्थित आफ्नो निवासमा करिब एक घण्टा लामो वार्ता गरेका हुन्।

भेटमा दुबै नेताबीच पार्टी एकताको प्रस्ताव, यसको औचित्य, सम्भाव्यता तथा रणनीतिहरूबारे गहन छलफल भएको स्रोतहरूले जनाएका छन्। साथै मुलुकको वर्तमान राजनीतिक परिस्थिति, कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको भूमिकाबारे समेत विचार आदानप्रदान भएको थियो।

त्यस्तै, मुलुकमा क्रियाशील विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था, उनीहरूको भूमिका र कम्युनिष्ट आन्दोलनको रुपान्तरण तथा पुनर्गठनका विषयमा समेत छलफल केन्द्रित भएको बताइएको छ।

दुबै नेताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले निरङ्कुशता र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाएका छन्।

श्रेष्ठ र भुसालबीचको यो भेटलाई माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको संभावित एकता प्रयासको हिस्साका रूपमा विश्लेषण गरिँदै आएको छ।

यसअघि श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्र विक्रम चन्दसँग पनि भेट गरेका थिए। यद्यपि, माओवादीले स्थायी कमिटी बैठकमार्फत विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको भए पनि उक्त प्रक्रिया अहिलेसम्म ठोस रूपमा अघि बढ्न सकेको छैन।

विप्लव पक्षका नेताहरूले हाललाई एकताको सम्भावना अस्वीकार गरिरहेका छन्, तर माओवादीले भने वार्ता टोली गठन गर्दै छलफल अगाडि बढाउने तयारीमा रहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रवार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको