ओम प्रकाश यादव
रौतहट, साउन २३ । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश अध्यक्षमा पूर्व राज्य मन्त्री योगेन्द्र राय यादव भिड्ने भएका छन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार आउँदो भदौ २५,२६ र २७ गते भित्रमा हुने मधेश प्रदेश अधिवेशनमा नेता योगेन्द्र राय यादवले प्रदेश अध्यक्षमा उम्मेदवारी दिने बताइएको छ।
भदौ २५,२६ र २७ गते भित्रमा सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिले गरेको निर्णय अनुसार भदौ मसान्त भित्रमा मधेश प्रदेशको अधिवेशन हुँदैछ।
प्रदेश अधिवेशन द्वारा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा नेता यादव मधेश प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिने जनाइएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव भएर लामो समय काम गरिसकेका, अध्यक्ष यादवका विश्वासपात्र समेत रहेका र मधेशको राजनीतिमा लामो समयदेखि सकृय रहँदै आएका जसपा नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादव पहिलो पटक प्रदेश अध्यक्षमा भिड्न लागेका हुन्।
पार्टीको संगठन विभागका केन्द्रिय सदस्य समेत रहेका र मधेश प्रदेश सरकारमा विगत पाँच वर्ष कृषि राज्य मन्त्री भएर काम गरिसकेका नेता यादव आउँदो सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा आफ्ना उम्मेदवारी घोषणा गर्ने स्रोतले जनाएको छ।
नेता यादव आफ्ना प्रस्ट विचार, स्पष्ट दृष्टिकोण र रोडम्यापका साथ प्रदेश अध्यक्षमा उम्मेदवारी दिन लागेको स्रोतको भनाई छ।
त्यसका लागि उनी मधेश प्रदेशमा अहिले नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यलाई तिब्रता दिएका छन्।
विगत केही महिनादेखि उनी मधेश प्रदेशका आठ वटै जिल्लामा आफ्ना राजनीतिक गतिविधि अगाडि बढाउदै आएका छन्।
नेता यादवको मधेशको राजनीतिमा राम्रो पकड भएको र प्रदेश अध्यक्षको सबभन्दा बलियो उम्मेदवार रहेकोले उनको जीत सुनिश्चित नै रहेको स्रोतको दाबी छ।




