एजेन्सी, साउन २५ । अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुत्ताकीको पाकिस्तान भ्रमणमा अमेरिका रोक लगाएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) द्वारा तोकिएको ट्राभल ब्यान छुट नदिइएपछि उनको त्यो यात्रा प्रभावित भएको हो । मुत्ताकी सन् २०२५ अगष्ट ४ मा काबुल र इस्लामाबाद बीच सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा पाकिस्तान जान लागेको थियो।
डोन मिडियाको रिपोर्टअनुसार, यसअघि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले काबुलको भ्रमण गरेका थिए। त्यसैको प्रत्युत्तर स्वरूप मुत्ताकीको पाकिस्तान भ्रमण तय गरिएको थियो।
तर, यूएनएससी अन्तर्गत जारी प्रतिबन्धका कारण मुत्ताकी लगायतका तालिबान सरकारका उच्च पदस्थ व्यक्तिहरूलाई विदेश यात्रामा रोक लगाइएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा पारित प्रस्ताव १९८८ अनुसार, यस प्रतिबन्ध समितिले तालिबानसँग सम्बन्धित व्यक्तिहरूको यात्रा नियन्त्रण, सम्पत्ति जब्त र हतियार प्रतिबन्धको निगरानी गर्छ।
अमेरिकाले अन्तिम समयमा मुत्ताकीलाई आवश्यक छूट दिन अस्वीकार गर्दा उनको पाकिस्तान यात्रा प्रभावकारी रूपमा रद्द भएको हो। यो निर्णय तालिबान र चीनबीच बढ्दो निकटता र त्यसले अमेरिकी सुरक्षा चासोलाई ध्यानमा राखेर गरिएको अनुमान छ।
अमेरिकी विदेश विभागले यसबारे सोधिएपनि “हामी अफवाहमाथि टिप्पणी गर्दैनौं“ भनी उत्तर दिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पनि यसबारे स्पष्ट प्रतिक्रिया नदिँदै केही प्रक्रियागत पक्षमा काम भइरहेको जानकारी मात्र दिएका छन्।
विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले भनेका छन्, “मुत्ताकीको भ्रमणको कुनै निश्चित मिति हालसम्म तय भएको छैन।”
यो घटनाले अफगानिस्तान र पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध सुधार गर्ने प्रयासमा थप जटिलता थपेको छ। तालिबान नेतृत्वको अफगान सरकारलाई अन्तर्राष्ट्रिय स्तरमा वैधता र मान्यता दिलाउने प्रक्रियामा पनि यो बाधक बन्न सक्नेछ।




