निर्वाचन अघि चिराग पासवानलाई ठूलो झटका

सारणमा १२८ नेताको सामूहिक राजीनामा


एजेन्सी, साउन २६ । आसन्न बिहार विधानसभा चुनावको पूर्वसन्ध्यामा लोक जनशक्ति पार्टी (रामविलास) का अध्यक्ष चिराग पासवानलाई सारण जिल्लामा ठूलो राजनीतिक धक्का पुगेको छ । पार्टीका पूर्व जिल्ला अध्यक्ष दीपक कुमार सिंह सहित १२८ पदाधिकारीहरूले एकैपटक पार्टीबाट राजीनामा दिएका छन्।

यो घोषणा आइतवार योगिनिया कोठी दुर्गा मन्दिर नजिक आयोजित विशेष बैठकमा गरिएको हो । जानकारी अनुसार, सारण जिल्ला समितिका २८ पदाधिकारी, जिल्लाका २० मध्ये १६ प्रखंड अध्यक्ष, सम्पूर्ण महानगर इकाइ र संसदीय बोर्डका तीन सदस्यले पार्टी छाडेका छन ्।

महिला मोर्चाका १९ मध्ये ११ जना पदाधिकारी—जसमा महिला मोर्चा जिल्ला अध्यक्षपनि लोजपा (रा.) सँगको सम्बन्ध तोडेका छन् । यस्तै, छपरा महानगरका २० वडाध्यक्षहरूले पनि एकैपटक राजीनामा दिएका छन्।

राजीनामा दिने प्रखंड अध्यक्षहरूमा सोनपुर, दिघवारा, दरियापुर, परसा, अमनौर, मकेर, तरैया, बनियापुर, मढौरा, एकमा, पानापुर, छपरा सदर, रिविलगंज र इसुआपुरका अध्यक्षहरू रहेका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, कुनै पनि दलमा व्यक्तिहरूको आवागमन सामान्य भए पनि यति ठूलो संख्यामा कार्यकर्ताहरूको एकैपटक पार्टी त्याग्नु महत्त्वपूर्ण राजनीतिक संकेत हो। यसले आगामी चुनावमा लोजपा (रा.) को संगठनात्मक शक्ति र जनाधारमा असर पर्न सक्ने अनुमान गरिएको छ।

यसअघि पनि खगडिया जिल्लामा लोजपा (रा.) का ३८ नेताहरूले सामूहिक राजीनामा दिएको समाचार आएको थियो। तर, त्यसबेलामा पार्टीका प्रदेश सचिव डा. पवन जायसवाल र नवनियुक्त जिल्ला अध्यक्ष मनीष कुमारले पत्रकार सम्मेलन गर्दै उक्त समाचार भ्रामक भएको दाबी गरेका थिए। उनका अनुसार, ती ३८ मध्ये २८ जना अझै पनि पार्टीमा सक्रिय छन् र राष्ट्रिय अध्यक्ष चिराग पासवानप्रति आफ्नो निष्ठा प्रकट गरेका छन्।

सारणमा एकैपटक यति ठूलो संख्यामा राजीनामा हुनुको कारणबारे आधिकारिक रूपमा केही खुलाइएको छैन। तर, स्थानीय स्रोतहरूका अनुसार, पार्टीको आन्तरिक कलह, संगठनको निर्णय प्रक्रियामा असन्तुष्टि र केही नेताहरूको व्यक्तिगत गुनासोले गर्दा यस्तो कदम चालिएको हुन सक्छ।

चुनाव नजिकिँदै गर्दा यस प्रकारको ठूलो संख्यामा पदाधिकारीहरूको प्रस्थानले लोजपा (रा.) का लागि रणनीतिक चुनौती सिर्जना गरेको छ। पार्टी नेतृत्वले यो संकटलाई कसरी व्यवस्थापन गर्ने हो भन्ने चासो कार्यकर्ता र राजनीतिक वृत्तमा बढेको छ।

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमवार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको