पाकिस्तानमा हिन्दू बालबालिकामाथि जबरजस्ती धर्म परिवर्तनको दबाब



एजेन्सी, साउन २५ । पाकिस्तानमा हिन्दू बालबालिकामाथि जबरजस्ती धर्म परिवर्तनको दबाब बढ्दै गएको एक नयाँ रिपोर्टमा खुलासा भएको छ ।

पाकिस्तानको राष्ट्रिय बालअधिकार आयोग (एनसीआरसी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार, यी बालबालिकाहरू जीवनको प्रत्येक चरणमा हिंसा, भेदभाव र शोषणको शिकार भइरहेका छन्।

रिपोर्टमा भनिएको छ कि अल्पसंख्यक बालबालिकाले बन्धुवा श्रम, बालविवाह र जबरजस्ती धर्म परिवर्तन जस्ता गम्भीर समस्याहरूको सामना गरिरहेका छन्। दैनिक हजारौं बालबालिका यस प्रकारको दमन र उत्पीडनबाट गुज्रिरहेका छन्, जुन कानूनी मात्र नभई गम्भीर मानवअधिकार संकटको रूपमा देखिएको छ।

सबैभन्दा भयावह स्थिति पंजाबमा

अप्रिल २०२३ देखि डिसेम्बर २०२४ सम्म एनसीआरसीमा अल्पसंख्यक बालबालिकासम्बन्धी हत्या, अपहरण, जबरन धर्म परिवर्तन र बालविवाहका २७ आधिकारिक उजुरी दर्ता भएका छन् । तर, वास्तविक संख्या यसभन्दा धेरै हुनसक्ने आयोगको अनुमान छ, किनकि धेरै परिवारहरू डरकै कारण उजुरी दर्ता गर्नै सक्दैनन् ।

आंकडाअनुसार, पाकिस्तानको पंजाब प्रान्तमा सबैभन्दा गम्भीर अवस्था छ, जहाँ अल्पसंख्यक बालबालिकामाथि भएका हिंसात्मक घटनामध्ये ४० प्रतिशत घटना त्यहीँ भएका छन्। जनवरी २०२२ देखि सेप्टेम्बर २०२४ बीच ५४७ क्रिस्चियन, ३२ हिन्दू, २ अहमदी र २ सिख समुदायका सदस्यमाथि आक्रमण, भेदभाव वा हिंसा भएको छ।

विद्यालयमै भेदभाव र उत्पीडन

रिपोर्टले देखाएको अर्को चिन्ताजनक पक्ष भनेको विद्यालयमा हुने संस्थागत भेदभाव हो। सहपाठीहरू मात्र होइन, शिक्षकहरू पनि अल्पसंख्यक बालबालिकासँग दुव्र्यवहार गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। धर्मका आधारमा व्यङ्ग्य गर्नु, अरू विद्यार्थीहरूबाट अलग्याएर बसाल्नु, कक्षामा अगाडि बस्न नदिनु र प्रश्न सोध्न रोक्नुजस्ता व्यवहार सामान्यजस्तै बनेका छन्।

सबैभन्दा अपमानजनक त, केही विद्यालयमा अल्पसंख्यक बालबालिकालाई एउटै गिलासबाट पानी पिउन नदिने गरेको रिपोर्टमा उल्लेख छ। यसले उनीहरूको आत्मसम्मानमा गहिरो चोट पुर्याइरहेको बालअधिकारकर्मीहरूको भनाइ छ।

सरकारप्रति अविश्वास

एनसीआरसी की अध्यक्ष आयशा रजा फारूकका अनुसार, प्रतिवेदनले देखाएको अवस्थापछि पनि अल्पसंख्यक बालबालिकाको सुरक्षाका लागि सरकार तुरुन्त कदम चाल्छ भन्ने अपेक्षा राख्नु बेमानी हुनेछ। उनका अनुसार, यी घटनाहरू रोक्न कानूनी, शैक्षिक र सामाजिक सुधारको संयोजन आवश्यक छ, तर सरकारको राजनीतिक इच्छाशक्ति कमजोर देखिएको छ।

अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूले पनि पाकिस्तानमा अल्पसंख्यक बालबालिकामाथि बढ्दो हिंसा र जबरजस्ती धर्म परिवर्तनको मुद्दालाई तत्काल सम्बोधन गर्न चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमवार ०८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको