अमेरिकी प्रभाव र दवाव विरुद्ध नागरिक लाई सचेत रहन राज्यपाल आरिफ मोहम्मद खानको आग्रह



एजेन्सी
पटना, साउन २७ । बिहारका राज्यपाल आरिफ मोहम्मद खानले अमेरिकी प्रभाव र दबाबको विरुद्ध नागरिक लाई सचेत रहन आग्रह गरेका छन । उनले अमेरिकी प्रभाव र दबाबको विरुद्ध युवाहरुलाई देशका लागि त्याग र बलिदान दिन तयार रहनु पर्ने बताएका छन्।

गंगादेवी महिला महाविद्यालयमा आयोजित ‘जनजातीयहरूको उपनिवेशीकरण : उलगुलानमा बिरसा मुंडा’ विषयक दुईदिने संगोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वतन्त्रता र अधिकार कुनै एकपटकको उपलब्धि नभएको, यसको संरक्षणका लागि निरन्तर सजग रहन आवश्यक रहेको उल्लेख गरे।

उनले भने, “भारतलाई शक्तिशाली राष्ट्रको रूपमा उभिन नदिने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नैतिकता र आत्मबल नै ठूलो शक्ति हो। हामीले आफ्ना विशेष क्षमता र गुण समाज र राष्ट्रका लागि प्रयोग गर्नुपर्छ, विशेषगरी सबैभन्दा कमजोर र पछाडि परेका वर्गलाई प्राथमिकता दिनुपर्छ।”

राज्यपालका अनुसार स्वतन्त्रता सेनानीका सपना साकार गर्न २०४७ सम्मको हाम्रो संकल्पमा अवरोधका रूपमा फेरि पुरानो जमीन्दारी मानसिकता देखिन थालेको छ। उनले बिरसा मुंडाको योगदानको प्रशंसा गर्दै भने, “बिरसा मुंडाले आदिवासीहरूलाई ब्रिटिश शासन र जमीन्दारी शोषणविरुद्ध लड्न प्रेरित गर्दै आजादीको आन्दोलनलाई नयाँ दिशा दिए।”

कार्यक्रममा पाटलिपुत्र विश्वविद्यालयका कुलपति प्रा. उपेन्द्र प्रसाद सिंहले विश्वविद्यालय र महाविद्यालय स्तरमा यस्ता कार्यक्रमले इतिहास र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने बताए। टाटा सामाजिक विज्ञान संस्थान, मुम्बईका कुलपति प्रा. बद्रीनारायणले विकसित भारतको सपना तब मात्र पूरा हुने बताए जब देशले सबै समुदायलाई समेट्ने दृष्टिकोण अपनाउँछ। उनले युवाहरुलाई बिरसा मुंडा तथा अन्य महान व्यक्तित्वको जीवन अध्ययन गर्न आग्रह गरे।

जवाहरलाल नेहरू विश्वविद्यालयका समाजशास्त्र विभागकी सहायक प्राध्यापक डा. फिरमी बोडोले देशका विभिन्न जनजातिहरूको उपनिवेश मुक्तिकरण र इतिहासबारे चर्चा गरिन्। उनले जनजातीय समाजको समाजशास्त्रीय अध्ययन र सांस्कृतिक संरक्षणको आवश्यकता औंल्याइन्।

दिल्ली विश्वविद्यालयका इतिहास विभागका प्रा. निर्मल कुमारले भारतीय सिनेमामा जनजातीय जीवनको अभावबारे बोले। उनले मधुमती, नागिन, ये गुलिस्तां हमारा जस्ता फिल्मका उदाहरण दिँदै जनजातिहरूलाई आफ्ना कथा स्वयं लेख्नुपर्नेमा जोड दिए।

ललित नारायण मिथिला विश्वविद्यालयका पूर्व प्राध्यापकले औद्योगिकीकरणका कारण जनजातीय भूमी र संस्कृति हराउने खतरा बढेको बताए र यसको संरक्षणमा सक्रिय प्रयास आवश्यक रहेको औंल्याए।

सत्रको सञ्चालन समाजशास्त्र विभागकी डा. दीक्षा सिंहले गरिन्। कार्यक्रममा राष्ट्रिय जनजातीय आयोगकी सदस्य आशा लकड़ा, पूर्व केन्द्रीय मन्त्री प्रा. संजय पासवानलगायत शिक्षाविद् तथा विज्ञहरूको उपस्थिति थियो।

प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलवार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको