एजेन्सी
वासिङ्टन, साउन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुतिनबीच आगामी अगस्ट १५ मा अमेरिकाको अलास्का राज्यमा महत्त्वपूर्ण बैठक हुने भएको छ । यो बैठकमा रूस–यूक्रेन युद्ध अन्त्य गर्ने विषय प्रमुख एजेन्डा रहनेछ । बैठक अघि ट्रम्पले स्पष्ट गर्दै भनेका छन् कि “म पुतिनको युद्ध अन्त्य गर्ने चाहना छ कि छैन, यो कुरा म पहिलो दुई मिनेटमै बुझ्छु ।”
ट्रम्पका अनुसार, पुतिनसँगको वार्तामा उनले युद्ध रोक्ने पहल गर्नेछन् र सम्भावित समाधानका उपायहरूबारे छलफल गर्नेछन्। साथै, उनले पुतिनसँगको वार्तापछि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेंस्कीसँग पनि कुरा गर्ने तयारी रहेको बताएका छन्। सम्भावना रहेको अर्को बैठक या त केवल जेलेंस्कीसँग वा दुवै नेतासँग संयुक्त रूपमा हुन सक्छ।
ट्रम्पले स्पष्ट पारेका छन् कि अलास्कामा हुने वार्तामा युक्रेनी राष्ट्रपति उपस्थित हुने छैनन्। तर उनले यो अवसरलाई उपयोग गर्दै युक्रेनका लागि केही भू–भाग फिर्ता लिन प्रयास गर्ने बताएका छन्। उनका अनुसार, यदि वार्ता सफल भयो भने यसले युद्धविराम (सीजफायर) लागू गर्ने मार्ग प्रशस्त गर्न सक्छ।
रूस र युक्रेनबीच करिब साढे तीन वर्षदेखि युद्ध जारी छ। ट्रम्पले यस युद्ध अन्त्य गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पुतिनसँगको वार्ताबाट सकारात्मक परिणामको अपेक्षा व्यक्त गरेका छन्। उनले भने, “मेरो प्राथमिकता युद्धविराम लागू गर्नु हो, जसले दुबै देशका जनतालाई राहत पुर्याउनेछ।”
ट्रम्पले संकेत गरेका छन् कि यदि रूस सम्झौतामा तयार भएन भने अमेरिका कडा आर्थिक कदम चाल्न सक्नेछ, जसमा रूसी तेलमाथि ‘सेकेन्डरी स्यान्क्शन’ (दोस्रो तहको प्रतिबन्ध) पनि समावेश हुनेछ। उनका अनुसार, यस्तो कदमले रूसको अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गर्नेछ।
विशेषज्ञहरूको भनाइमा, आगामी ट्रम्प–पुतिन भेट विश्व कूटनीतिको दृष्टिले निकै महत्त्वपूर्ण हुनेछ। यस बैठकको परिणामले न केवल पूर्वी युरोपको सुरक्षात्मक परिदृश्यमा, तर वैश्विक शक्तिसन्तुलनमा पनि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।




