अमेरिकाद्वारा बलूचिस्तान लिबरेशन आर्मी र मजीद ब्रिगेड आतङ्ककारी संगठन घोषणा



एजेन्सी
न्यूयोर्क, साउन २७ । अमेरिकाले पाकिस्तानबाट बलूचिस्तानको स्वतन्त्रताको लागि संघर्षरत बलूचिस्तान लिबरेशन आर्मी (बिएलए) र यसकै आत्मघाती दस्ता मजीद ब्रिगेडलाई ‘विदेशी आतङ्ककारी संगठन’को सूचीमा राखेको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा यो कदम आतङ्कवादविरुद्धको लडाइँमा महत्त्वपूर्ण भएको बताएको छ।

मजीद ब्रिगेडलाई सन् २०१९ मै ‘विशेष रूपमा नामित विश्वव्यापी आतङ्ककारी संगठन’ घोषित गरिएको थियो । त्यतिबेलादेखि बिएलए र यसका आत्मघाती दस्ताले पाकिस्तानका विभिन्न भागमा अनेक आक्रमणको जिम्मेवारी लिँदै आएका छन्।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “बिएलए र मजीद ब्रिगेडलाई आतङ्ककारी संगठनको रूपमा सूचीकृत गर्नु आतङ्कवादको समर्थन घटाउने र यसविरुद्धको अन्तर्राष्ट्रिय प्रयासलाई मजबुत बनाउने एउटा प्रभावकारी उपाय हो।” मन्त्रालयका अनुसार यो निर्णयले आतंककारी गतिविधिहरूको वित्तीय स्रोत र समर्थनमा प्रहार गर्नेछ।
सन् २०२४ मा बिएलएले कराची विमानस्थल र ग्वादर बन्दरगाह प्राधिकरण परिसर नजिक भएका आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । यी आक्रमणमा कैयौं जनाको मृत्यु र ठूलो मात्रामा क्षति भएको थियो ।

यसै वर्षको मार्चमा क्वेटाबाट पेशावरतर्फ गइरहेको जाफर एक्सप्रेस रेलको अपहरणमा पनि बिएलए को संलग्नता पुष्टि भएको थियो । उक्त घटनामा ३१ जना नागरिक र सुरक्षाकर्मीको मृत्यु भयो भने ३०० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको थियो।

प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलवार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको