एजेन्सी
पटना, साउन २९ । राजद (आरजेडी) का नेता तथा पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवले बिहारमा जारी मतदाता–सूचीको विशेष गहन पुनरीक्षण एसआइआर प्रक्रिया प्रति आपत्ति जनाएका छन । उनले बुधबार राति सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा पोस्ट गर्दै एनडीए सांसद वीणा देवीको मतदाता परिचयपत्रमा फर्जीवाडा भएको दाबी गर्दै निर्वाचन आयोगमाथि ठूला आरोप लगाएका छन्।
तेजस्वीका अनुसार, वैशालीबाट निर्वाचित सांसद वीणा देवीको नाम दुई फरक–फरक विधानसभा निर्वाचन क्षेत्रमा दर्ता गरिएको छ । उनले प्रमाणस्वरूप दुईवटा अलग–अलग इपिक आइडी नम्बर सार्वजनिक गरे – युटीओ ११३४५४३ र जीएसबी १०३७८९४। यी दुवै परिचयपत्र फरक–फरक जिल्ला तथा लोकसभा निर्वाचन क्षेत्रमा दर्ता भएको उनको दाबी छ ।
तेजस्वीले पोस्टमार्फत जनाएका छन् कि सांसदको यी दुई इपिक ार्डमा उमेर पनि फरक–फरक उल्लेख छ । एसआइआर प्रक्रियामा उनले दुई फरक गणना फारम भरेको र फरक–फरक हस्ताक्षर गरेको सम्भावना छ।
तेजस्वी यादवले स्पष्ट पारे कि उनी एसआइआर को अवधारणाको विरोधमा होइनन्, तर यसको कार्यान्वयनको तरिकामाथि प्रश्न उठाइरहेका छन्। उनले आरोप लगाए कि एसआइआरको नाममा गरीब र कमजोर वर्गका मानिसहरूलाई मताधिकारबाट वञ्चित गर्ने योजना अघि बढाइएको छ । उनका अनुसार, धेरै मतदाताको नाम सूचीबाट हटाइँदै छ, जसमा रोजगारीका लागि राज्य बाहिर रहेका व्यक्तिहरूको संख्या बढी छ।
तेजस्वीले निर्वाचन आयोगलाई संवैधानिक संस्थाको हैसियतमा निष्पक्षताको पालना नगरेको र सत्तारुढ दलको हितमा प्रयोग भइरहेको आरोप लगाए। उनले भने, “विपक्षी महागठबन्धनका गुनासा र अपेक्षाहरूको आयोगले उपेक्षा गरिरहेको छ।”




