ओम प्रकाश यादव
रौतहट, साउन ३०। तोकिएको समय भन्दा एक महिना ढिलो गरी रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा आज सम्पन्न भएको छ।
नियम अनुसार प्रत्येक स्थानीय तहले असार १० गते भित्रमा नगरसभा सम्पन्न गरी असार मसान्त सम्ममा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर विभिन्न कारणले निर्धारित समय असारमा सम्पन्न हुन नसकेको फतुवा विजयपुर नगरपालिकाको नवौं नगरसभा शुक्रबार सम्पन्न भएको हो।
नगरपालिकाले आफ्ना नवौं नगरसभाद्वारा चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याएको छ। फतुवा विजयपुर नगरपालिकाले चालू आर्थिक वर्षका लागि आय व्यय सहित कुल ५६ करोड रुपैयाँ भन्दा बढी बजेट प्रस्तुत गरेको छ।
नगरसभाद्वारा नगरको समग्र विकासका लागि ५६ करोड ३२ लाख ९५ हजार एक सय ५१ रुपैयाँ बजेट प्रस्तुत गरिएको बताइएको छ।
नगर प्रमुख गोपाल राय यादव भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी नगर उप प्रमुख अम्बेया खातुनको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा वडा अध्यक्ष राजेश यादवले सो बजेट प्रस्तुत गरेका थिए ।
चालू आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बताइन् ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा जनमुखी योजनाहरू समावेश गरिएको छ। नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिइएको कार्यवाहक नगर प्रमुख खातुनले बताइन् ।
कार्यक्रममा नगर एम्बुलेन्सबाट ओसार पसार गर्ने क्रममा कुनै बिरामीको मृत्यु भएमा ती मृतक बिरामीको शव सम्बन्धित वडा अध्यक्षको सिफारिसमा निःशुल्क ढुवानी गर्ने उल्लेख छ। त्यस्तै नगरपालिका क्षेत्र भित्र रहेका ऐलानी, पर्ति, सार्वजनिक जग्गाको खोजी, रेखांकन, र संरक्षण गर्ने कार्य यसै वर्षदेखि सुरु गरिने उल्लेख छ।
यस पालिका भित्र २० वर्ष भन्दा बढी काम गरिसकेका कर्मचारीलाई सम्मान सहितको स्वेच्छिक अवकाशको योजना ल्याइने र यसका लागि आवस्यक बजेटको व्यवस्था गरिएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ। त्यस्तै पालिका भित्रका ८४ जना गरिव, सुकुम्बासीलाई यस चालू आर्थिक वर्ष भित्रमा जग्गा श्रेस्ता प्रमाण पुर्जा वितरण गर्ने लक्ष्य राखिएको बताइएको छ।
त्यस्तै आफ्नो भवन नरहेका वडा कार्यालयहरुको आफ्नो भवन निर्माण गर्नका लागि आवस्यक पर्ने बजेट विनियोजन गर्ने समेत उल्लेख गरिएको छ। सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा जनमुखी योजनाहरू समावेश गरिएकोले चालू आर्थिक वर्षमा फतुवा विजयपुर नगरपालिका समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास लिइएको छ।




