एजेन्सी, साउन ३० । रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले अमेरिका सँग परमाणु हतियारको संख्या सीमित गर्न नयाँ सम्झौता गर्न सुझाव दिएका छन् । पुतिनले यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा शुक्रवार हुने भेटघाटअगावै दिएका हुन् । उक्त भेटमा मुख्य रूपमा यूक्रेन युद्धको अन्त्य र विश्व शान्ति सुनिश्चित गर्ने उपायहरूमा चर्चा हुने अपेक्षा गरिएको छ।
पुतिनले आफ्नो वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको बैठकमा भने, “अमेरिका यूक्रेनमा युद्ध रोक्ने सक्रिय र गम्भीर प्रयास गरिरहेको छ। यसले संकट बढ्नबाट रोक्नेछ र सबै सरोकारवाला पक्षको हितलाई सुनिश्चित गर्नेछ।” यस बैठकको उद्देश्य ट्रम्पसँग हुने वार्ताको तयारी गर्नु पनि थियो।
रूसी राष्ट्रपति पुतिनले संकेत दिए कि उनी ट्रम्पसँगको वार्तामा परमाणु हतियारको संख्या सीमित गर्ने विषय पनि उठाउनेछन्। पुतिनका अनुसार, “यदि हामी परमाणु हतियार नियन्त्रणमा समझौता गर्न सफल भयौं भने रूस र अमेरिका मात्र नभई यूरोप र सम्पूर्ण विश्वमा दीर्घकालीन शान्ति कायम गर्न सकिन्छ।” हाल रूससँग विश्वकै सबैभन्दा ठूलो ५,५०० परमाणु हतियारको भण्डार छ भने अमेरिकासँग केही कम संख्या छ।
रूस–अमेरिका बीच परमाणु हतियारको संख्या नबढाउने वर्तमान सम्झौता ५ फेब्रुअरी, २०२६ मा समाप्त हुँदैछ। पुतिनका सल्लाहकार यूरी उशाकोवले भनेका छन् कि यस भेटमा दुबै राष्ट्रबीच व्यापार सम्झौता र अन्य आर्थिक विषयमा पनि छलफल हुन सक्नेछ।
शुक्रवारको भेट ट्रम्प र पुतिनबीच दोस्रो औपचारिक वार्ता हुनेछ। यसअघि उनीहरू जुलाई २०१८ मा फिनल्याण्डको राजधानी हेलसिंकीमा भेटिएका थिए। पुतिनले यस पटक विश्व शान्तिको महत्वमा जोड दिए, भने केही दिनअघि ट्रम्पले यूक्रेनमा युद्धविराम नहुँदा रूसलाई गम्भीर परिणामको चेतावनी दिएका थिए। त्यस्तै, पूर्व रूसी राष्ट्रपति दिमित्री मेदवेदेवको रूस–अमेरिका युद्धको आशंका सम्बन्धी अभिव्यक्तिप्रति ट्रम्पले तीव्र प्रतिक्रिया दिएका थिए र दुई परमाणु–सुसज्जित पनडुब्बी रूस नजिक तैनाथ गर्ने घोषणा गरेका थिए।




