काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको बाटोमा सबै हिँड्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘हार्दिक शुभकामना ! आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् । कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !’
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै छ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । देशभर विभिन्न कार्यक्रम गरी जन्माष्टमी पर्व मनाईँदै छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।






