एजेन्सी, साउन ३१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धविरामको अन्तिम जिम्मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन्। शुक्रबार अमेरिकाको अलास्कामा भएको ऐतिहासिक भेटवार्तापछि ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै अब छिट्टै त्रिपक्षीय वार्ता गर्ने तयारी भइरहेको स्पष्ट पारे।
ट्रम्पले भने, “अब यो प्रक्रिया पूरा गर्ने जिम्मा राष्ट्रपति जेलेन्स्कीको हातमा छ। हामी त्रिपक्षीय बैठकको तयारी गर्दैछौँ।” उनले युद्ध अन्त्यको प्रक्रिया निकै नजिक पुगेको दाबी गर्दै अब यसमा युक्रेनले सहमति जनाउनुपर्ने बताए। उनले जोड दिए, “जेलिन्स्कीले सम्झौता गर्नैपर्छ।”
शुक्रबार मध्यराति (नेपाली समय) अलास्कामा ट्रम्प र पुटिनबीच करिब तीन घण्टा लामो बैठक भएको थियो। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, दुवै नेताबीच कुनै ठोस सहमति भने भएको छैन।
बैठकपछि पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका थिए, तर त्यो पनि मात्र १२ मिनेट लामो रह्यो। पत्रकार सम्मेलनमा पुटिनले रुसको राष्ट्रिय सुरक्षा सर्वोपरि रहेको दोहोर्याए र आगामी बैठक मस्कोमा गर्नुपर्ने प्रस्ताव राखे।
ट्रम्पले समेत केही मुद्दामा मतभेद रहे पनि समग्रमा वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिए। तर, कुन–कुन विषयमा सहमति भयो वा भएन भन्ने विषय दुवै नेताले स्पष्ट पार्न चाहेनन्।
पत्रकार सम्मेलनमा छोटकरीमा मन्तव्य राखिसकेपछि दुवै नेता मञ्चबाट बाहिरिएका थिए र सञ्चारकर्मीहरूको प्रश्नहरूको जवाफ दिएका थिएनन्।
युक्रेन युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदाय निरन्तर दबाब दिइरहेका बेला ट्रम्प–पुटिन भेटलाई महत्वपूर्ण मानिएको छ। तर, युद्धविराम वास्तवमै सम्भव हुन्छ कि हुँदैन भन्ने विषय जेलेन्स्कीको आगामी निर्णयमा निर्भर हुने धेरै विश्लेषकको भनाइ छ।
यदि त्रिपक्षीय वार्ता वास्तवमै बस्ने हो भने, पछिल्ला वर्षयता भएको यो सबैभन्दा ठूलो कूटनीतिक पहल बन्नेछ भन्ने अपेक्षा गरिएको छ।






