एजेन्सी
पटना, साउन ३१ । पटना पाटलिपुत्र थाना क्षेत्रको इन्द्रपुरी रोड नम्बर १२ नजिक शुक्रबार बेलुकी ट्युसन पढ्न गएका दुई बालबालिकाको हत्या भएको छ । एक घरको कम्पाउन्डमा पार्क गरिएको कारभित्र ती दुई बालबालिकाको शव फेला परेको हो । मृतकहरुमा पाँच वर्षीय दीपक कुमार र सात वर्षीया लक्ष्मी रहेका छन जो दिदी–भाइ थिए ।
घटनाको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। वैज्ञानिक अनुसन्धान टोलीलाई समेत बोलाएर अनुसन्धान शुरु गरिएको छ । मृतकका पिता गणेश साव पटना शहरमा मजदुरी गर्छन् भने आमा अरूको घरमा काम गर्ने गर्छिन्। परिवारले बालबालिकाको हत्या भएको दाबी गर्दै ट्युसन शिक्षिकालाई दोषी ठहर गरेका छन्। यसैक्रममा प्रहरीले ती महिला शिक्षिकालाई पक्राउ गरेको छ।
दुवै बालबालिका शुक्रबार दिउँसो करिब १२ः३० बजे नजिकै बस्ने महिला शिक्षिकाको घरमा ट्युसन पढ्न गएका थिए। बेलुकीसम्म पनि नफर्केपछि अभिभावकले खोजी सुरु गरे। आमा किरण देवीका अनुसार उनले बेलुकी करिब ४ बजे शिक्षिकालाई फोन गर्दा उनले “बच्चाहरू घर फर्किसकेका छन्“ भनेर बताइन्। तर खोज्दा कतै पत्ता लागेन।
साँझ करिब ७ बजे नजिकैको एक घरको कम्पाउन्डमा पार्क गरिएको कारभित्र दुवै बालबालिका अचेत अवस्थामा फेला परे। तत्कालै एलएनजेपी अस्पताल लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषित गरे। आमाले दाबी गरिन् कि छोराको शरीरमा चोटका दाग थिए र छोरीको घाँटी थिचिएको थियो। उनको आशंका अनुसार, हत्या गरी शव कारमा लुकाइएको थियो।
दुवै बालबालिका करिब चार महिनादेखि उक्त शिक्षिकासँग ट्युसन पढ्दै आएका थिए। घटनापछि गाउँ–घरमा आक्रोश फैलिएको छ र स्थानीयवासीले तत्काल न्यायको माग गरेका छन्।
प्रहरीका अनुसार, कारभित्र भेटिँदा बच्चीको अझै सास चलिरहेको थियो, तर अस्पतालमा उनको ज्यान बचाउन सकिएन। एफएसएल टोलीले घटनास्थलमा प्रमाण संकलन गरिरहेको छ र शवमा चोटका निशान पाइएको छ। प्रहरीले घटनालाई सबै कोणबाट अनुसन्धान गरिरहेको बताएको छ। कार मालिक र अन्य सम्भावित व्यक्तिहरूसँग पनि सोधपुछ भइरहेको छ।
अहिलेसम्म मृत्युको स्पष्ट कारण पुष्टि भएको छैन। दुवै शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र रिपोर्ट आएपछि मात्र सत्यतथ्य सार्वजनिक हुने प्रहरीको भनाइ छ ।




