एजेन्सी, साउन ३१ । विश्वका विभिन्न मुलुकमा भइरहेका युद्ध र संघर्षको मुल्य सबैभन्दा बढी महिला र बालिकाले चुकाइरहेका छन् । संयुक्त राष्ट्र (यूएन) को ताजा प्रतिवेदनअनुसार एक वर्षदेखि ७५ वर्षसम्मका महिलामाथि हुने यौन हिंसाका घटनामा २५ प्रतिशतसम्म वृद्धि भएको छ ।
संयुक्त राष्ट्र महासचिव एन्तोनियो गुटेरेसले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०२४ मा ४,६०० भन्दा बढी व्यक्ति यौन हिंसाका शिकार बनेको तथ्यांक प्रस्तुत गरिएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार अफ्रिकी गणराज्य, कंगो, हैती, सोमालिया र दक्षिण सुडानमा सबैभन्दा धेरै घटनाहरू दर्ता भएका छन्।
प्रतिवेदनको कालोसूचीमा एक दर्जन देशका ६३ वटा सरकारी र गैर–सरकारी समूहलाई समावेश गरिएको छ, जसलाई युद्ध वा संघर्षका क्रममा बलात्कार र अन्य किसिमका यौन अपराधमा संलग्न वा संलग्न भएको आशंका गरिएको छ। यसमा हमास जस्ता आतङ्ककारी समूह पनि सामेल छन्।
यस वर्षको प्रतिवेदनको विशेषता भनेको पहिलोपटक रुस र इजरायललाई प्रत्यक्ष चेतावनी दिइनु हो। यूएनले दुवै देशलाई यौन हिंसामा नियन्त्रण गर्न असफल भएको भन्दै कदम चाल्न आग्रह गरेको छ। चेतावनीप्रति प्रतिक्रिया जनाउँदै इजरायलले यसलाई पक्षपातपूर्ण भनेको छ भने रुसले कुनै टिप्पणी गरेको छैन।
यूएनका अनुसार, इजरायली सेना तथा सुरक्षा निकायमाथि मुख्यतः जेल तथा हिरासतमा रहेका फलस्तिनीहरूमाथि यौन शोषण गरेको आरोप छ। त्यस्तै, रूसी सेना र त्यसका सहयोगी सशस्त्र समूहमाथि युक्रेनी युद्धबन्दीहरूमाथि यौन हिंसा र प्रताडना गरेको आरोप लगाइएको छ।
प्रतिवेदनमा केबल महिला वा बालिका मात्र होइन, पुरुष र बालकसमेत यौन हिंसाका घटनाबाट प्रभावित भएको खुलासा गरिएको छ। यसमा बलात्कार, बलात्कारको धम्की, बिजुलीको झटका दिने, र जननाङ्गमा प्रहार गर्ने जस्ता क्रूर घटनाहरू समावेश छन्।
यूएनले उल्लेख गरेको छ कि कालोसूचीमा रहेका ७० प्रतिशतभन्दा बढी पक्ष पाँच वर्षदेखि सूचीमा निरन्तर छन्। यसबीचमा यौन हिंसा रोक्न उल्लेख्य कदम नचलिएकाले अवस्था थप गम्भीर बनेको छ। महासचिव गुटेरेसका अनुसार, यदि रुस र इजरायलले तुरुन्तै प्रभावकारी कदम चाल्न सकेनन् भने दुवै मुलुकलाई आगामी वर्ष औपचारिक कालोसूचीमा राख्न सकिनेछ।
संयुक्त राष्ट्रको निष्कर्ष छ कि विश्वका विभिन्न क्षेत्रमा भइरहेको हिंसात्मक द्वन्द्वमा महिलाहरू नै बढी प्रताडित भइरहेका छन्। युद्धका क्रममा हत्या, विस्थापन र खाद्य संकटसँगै उनीहरूले यौन हिंसाको अतिरिक्त पीडा व्यहोर्नुपरेको छ।






