एजेन्सी
पटना, भदौ १ । भारतीय काँग्रेसका नेता राहुल गान्धी आज विहार आउने भएका छन । विशेष गहन पुनरीक्षण (एसआइआर) को विरोधमा जनचेतना फैलाउने उद्देश्यले आज बाट बिहारमा शुरु हुने मतदाता अधिकार यात्राको शुभारम्भ गर्न कांग्रेस नेता गांधी बिहार आउने भएका हुन ।
गान्धी संगै राजद नेता तेजस्वी यादवको नेतृत्वमा आइतबारदेखि ‘‘मतदाता अधिकार यात्रा’’ सुरु हुँदैछ।
यो यात्रा सासारामबाट प्रारम्भ हुनेछ र १६ दिनभित्र २५ जिल्लाको परिक्रमा गरी पटना प्रवेश गर्नेछ। भदौ १६ गते (सेप्टेम्बर १) पटना स्थित ऐतिहासिक गाँधी मैदानमा आयोजना हुने विशाल सभासँगै यसको समापन हुने योजना छ।
यस अवधिमा राहुल र तेजस्वीले आफ्नो राजनीतिक आधारलाई पुनः सुदृढ बनाउने, मतदातालाई आकर्षित गर्ने र क्क्ष्च् मुद्दालाई प्रमुख राजनीतिक बहसको केन्द्र बनाउने लक्ष्य लिएका छन्। विगतका विधानसभा तथा हालै सम्पन्न लोकसभा निर्वाचनमा जहाँ महागठबन्धनले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको थियो, त्यही क्षेत्रमा पुनः प्रभाव जमाउने प्रयासस्वरूप यो यात्रा आयोजना गरिएको हो।
यात्रामा भाकपा–मालेका महासचिव दीपंकर भट्टाचार्यसहित महागठबन्धनका सबै घटक दलका ठूला नेता सहभागी हुनेछन्। १६ दिन लामो यात्रामा तीन दिन (भदौ ३, ८ र १४) विश्रामका लागि राखिएको छ। ती तीन दिन राहुल बिहारबाहिर रहनेछन् भने बाँकी दिनहरुमा उनी निरन्तर प्रदेशभित्र रहनेछन्। यसरी हेर्दा करिब १३ दिनसम्म राहुलको बिहारमा निरन्तर उपस्थिति रहनेछ, जुन उनको राजनीतिक जीवनको दृष्टिले अभूतपूर्व मानिन्छ।
यसबाट बिहार चुनाव महागठबन्धनका लागि कति महत्वपूर्ण छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ। त्यसैले राजद र कांग्रेसले यो यात्राको सफलता सुनिश्चित गर्न पुरा शक्ति लगाएका छन्।
यात्रालाई जनस्तरमा लोकप्रिय बनाउन तेजस्वी यादवले विशेष अभियान गीत समेत सार्वजनिक गरेका छन्। सो गीतमा तेजस्वीको नेतृत्वमा ‘‘बिहार विजय’’को कामना लयात्मक शैलीमा प्रस्तुत गरिएको छ।
१६ दिनमा राहुल–तेजस्वी दक्षिण बिहार हुँदै उत्तर बिहारको भ्रमण गर्नेछन् र अन्त्यमा राजधानी पटना पुगेपछि ठूलो जनसभाबाट जीतको हुंकार भर्ने तयारी गरेका छन्। त्यतिबेलासम्म उनीहरुले २५ जिल्ला पार गर्दै करिब १३०० किलोमिटर यात्रा पूरा गर्नेछन्।
यात्रामा सहभागी टोलीले एसआइआर मुद्दासँगै अन्य जनहितका विषयमा पनि जनमत संकलन गर्नेछन् । जनता उठाएका महत्वपूर्ण मुद्दालाई महागठबन्धनले साझा संकल्प–पत्रमा समेट्ने तयारी रहेको छ । यसरी यो यात्रा केवल विरोध प्रदर्शन नभई भविष्यको राजनीतिक अजन्डा तय गर्ने अभियानका रुपमा पनि अघि बढ्नेछ।
रोहतास, औरंगाबाद, गया, नवादा, नालन्दा, शेखपुरा, लखीसराय, जमुई, मुंगेर, भागलपुर, कटिहार, पूर्णिया, अररिया, सुपौल, मधुबनी, दरभंगा, मुजफ्फरपुर, सीतामढी, पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगंज, सिवान, सारण, भोजपुर र पटना।
यस यात्राले बिहारको दक्षिणदेखि उत्तरसम्मको भूभाग समेट्दै महागठबन्धनको राजनीतिक अभियानलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।






