३७ वर्षपछि सडकमा महागठबन्धन : मतदाता अधिकार यात्राबाट चुनावी तयारी



एजेन्सी
पटना, भदौ २ । बिहारमा आगामी विधानसभा चुनावलाई लक्षित गर्दै विपक्षी दलहरूको महागठबन्धनले ३७ वर्षपछि सडकमा ‘वोटर अधिकार यात्रा’ सुरु गरेको छ । यो यात्रा कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा भइरहेको छ। विशेष कुरा के छ भने, १९८८–८९ पछि पहिलो पटक विभिन्न दलहरू एउटै प्लेटफर्मबाट सडकमा उत्रिएका छन् । त्यसबेला वीपी सिंहले जनमोर्चाको ब्यानरमा यात्रा गरेका थिए, जसमा थुप्रै दल सहभागी भएका थिए।

यस पटकको यात्रा १६ दिनमा करिब १३०० किलोमिटर दूरी तय गर्नेछ । मार्गमा पर्ने २३ जिल्लामार्फत यात्रा अघि बढ्नेछ भने करिब २९ लोकसभा क्षेत्र र पौने दुई सय विधानसभा क्षेत्रका जनतासम्म सन्देश पु¥याउने लक्ष्य लिइएको छ।

महागठबन्धनले यस यात्रालाई चुनावी अभ्यासका रूपमा उपयोग गर्न व्यापक तयारी गरेको छ। जिल्ला इकाइहरूलाई सडकका दुबै छेउमा झण्डा–ब्यानर राख्न निर्देशन दिइएको छ। कार्यकर्ताहरूलाई टोलीसँगै सडक छेउमा उपस्थित रहन भनिएको छ। यात्राका क्रममा विभिन्न ठाउँमा छोटो सभाहरू आयोजना हुनेछन्।

यात्राको सम्पूर्ण भिडियोग्राफी अनिवार्य गरिएको छ, जसलाई आगामी टिकट बाँडफाँडमा ‘दबाब’का रूपमा प्रयोग गर्ने तयारी देखिएको छ। मुख्य विषय मतदाता पुनरीक्षणमा भएको धाँधली हो तर भाषणमा राज्य सरकारका कमजोरीहरू पनि जोडदार रूपमा प्रस्तुत गरिँदैछन्।

महागठबन्धनका नेता तेजस्वी यादवले यात्रा क्रममा आफ्नो भविष्यको योजना सार्वजनिक गर्दै आएका छन्। उनले भनेका छन्, “हाम्रो सरकार आएपछि राज्यका जनतालाई नयाँ सुविधा दिइनेछ। अहिलेको सरकारले हाम्रो घोषणा–पत्रका केही योजनाको नकल मात्र गरेको छ, तर हामीले पूरा लाभ दिनेछौँ।”

आरक्षणलाई चुनावी मुद्दा बनाउँदै राहुल गान्धीले सासारामको सभामा ५० प्रतिशत आरक्षण सीमा हटाउने प्रतिबद्धता जनाएका छन्। हाल राज्य सरकारले आरक्षणको सीमा ६५ प्रतिशत पु¥याएको थियो तर सुप्रीम कोर्टले त्यसमा रोक लगाएको छ।

३५–३७ वर्षपछि पहिलो पटक कुनै गठबन्धनले एकसाथ सडकमा यात्रा सुरु गरेको दृश्य देखिएको छ। यसअघि विभिन्न दलहरूले अलग–अलग यात्राहरू गरेका भए पनि संयुक्त रूपमा यति ठूलो अभियान भएको थिएन। १९८८–८९ को जनमोर्चा यात्रापछि केन्द्र र बिहार दुवै स्तरमा सत्ता परिवर्तन भएको ऐतिहासिक तथ्य पनि जोडिएको छ।

यसपटकको यात्रा महागठबन्धनका लागि चुनावी शक्ति–प्रदर्शन र संगठनात्मक एकताको परीक्षा बन्ने देखिएको छ। करिब दुई सय विधानसभा क्षेत्रमा प्रत्यक्ष सम्पर्क कायम गर्ने रणनीति बनाइएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार ०७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको