गाजा युद्ध अन्त्यको मागमा इजरायलभर प्रदर्शन

नेतन्याहू सरकारविरुद्ध सडकमा नागरिक


एजेन्सी, भदौ २ । गाजा युद्ध अन्त्य गर्न र हमासको कब्जामा रहेका बन्धकहरूलाई तत्काल मुक्त गराउन माग गर्दै इजरायलभर आइतबार व्यापक प्रदर्शन भएको छ । हजारौँ नागरिक सडकमा उत्रिँदै प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सरकारविरुद्ध नारा लगाएका छन् ।
प्रदर्शनकारीहरूले प्रमुख सडकहरू अवरुद्ध गर्दै व्यवसायिक गतिविधि बन्द गराए। आन्दोलनकारीहरूका हातमा बन्धकहरूको तस्वीरसहितका पोस्टर थिए। उनीहरूले “हमाससँग तत्काल सम्झौता” गरेर युद्ध रोक्न सरकारलाई दबाब दिएका छन्।

पुलिसले भीड नियन्त्रण गर्न पानीको फोहोरा प्रयोग गर्दै करिब ३८ प्रदर्शनकारीलाई नियन्त्रणमा लियो । यो आन्दोलन दुई प्रमुख समूहले सञ्चालन गरेका हुन्, जसले हमासको कब्जामा रहेका बन्धकका परिवारहरूको प्रतिनिधित्व गर्छन् ।

आन्दोलनकारीहरूलाई डर छ कि इजरायलले गाजामाथि आक्रमण तीव्र बनाएमा बन्धकहरूको ज्यान खतरामा पर्न सक्छ । इजरायली प्रशासनको अनुमान अनुसार अझै करिब २० बन्धक जीवित छन्। प्रदर्शनमा सहभागी एक परिवारजनले भने, “हामीलाई विश्वास छ, हाम्रा प्रियजनहरू अझै बाँचोका छन्, तर समय सकिँदैछ।”

प्रदर्शनका बीच प्रधानमन्त्री नेतन्याहूले भने, “जो युद्ध बिना हमासलाई पराजित गर्न चाहन्छन्, उनीहरूले बुझ्नुपर्छ यसो गर्दा हमास अझ शक्तिशाली हुन्छ। बन्धकहरूलाई मुक्त गर्ने बाटो पनि कठिन बन्छ र देशको सुरक्षा संकटमा पर्छ। ७ अक्टोबरको घटना फेरि–फेरि दोहोरिन सक्छ।”

यसैबीच, आइतबार इजरायली सेनाले गाजामा गरेको नयाँ आक्रमणमा १७ फलस्तीनी नागरिकको मृत्यु भएको छ। यी सबै मानवीय सहायता लिन जम्मा भएका मानिसहरू थिए। मोराग कोरिडोर नजिकै जम्मा भएकाहरूमाथि इजरायली ट्याङ्कले करिब १०० मिटर दूरीबाट गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्।

स्थानीयहरूले भने, “हामीसँग विकल्प छैन, या त भोकै मर्नु पर्नेछ, या त गोली खानु पर्नेछ।”

त्यस्तै, कुपोषणका कारण दुई बालबालिकाको मृत्यु भएको छ। पछिल्ला २४ घण्टामा मात्र भोक र कुपोषणले मर्नेहरूको संख्या सात पुगेको छ।

इजरायली सेनाले गाजा बासिन्दालाई दक्षिणी भागतर्फ धकेल्ने योजना बनाइरहेको जनाएको छ। सेनाको भनाइमा, “यसरी मात्र नागरिकको सुरक्षा सम्भव छ।” तर राजनीतिक विश्लेषकहरूका अनुसार, यो रणनीति इजरायलको उत्तरी गाजामाथि पूर्ण कब्जा गर्ने तयारीसँग जोडिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमवार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको