बिहारमा महागठबन्धनपछि महारैलीको तैयारीमा एनडिए



एजेन्सी
पटना, भदौ २ । बिहारमा महागठबन्धनपछि एनडिएले महारैलीको तयारी शुरु गरेको छ । महागठबन्धनपछि एनडिए चुनावी मैदानमा सक्रिय हुने भएका छन । चुनावी रैली प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतीश कुमार २२ अगस्टमा गयाजीमा संयुक्त रुपमा शुरु गर्ने भएका छन ।

जदयू महानगर कार्यालय जीबी रोडमा आइतबार आयोजित बैठकमा रैलीको तयारीबारे विस्तृत समीक्षा गरिएको थियो । बैठकको अध्यक्षता महानगर अध्यक्ष राजकुमार प्रसाद उर्फ राजु बरनवालले गरेका थिए । सहभागी नेताहरूले गयाजीको महारैलीलाई “ऐतिहासिक र निर्णायक” बनाउन संकल्प व्यक्त गरेका छन ।

बैठकमा जदयू प्रदेश महासचिव चन्दन सिंह, जिलाध्यक्ष द्वारिका प्रसाद, जिल्ला प्रभारी अरुण कुशवाहा, नगर प्रभारी अरमान उर्फ गुड्डु, बाल श्रमिक सदस्य शौकत अली लगायत सयौँ कार्यकर्ता उपस्थित थिए।

महासचिव चन्दन सिंहले जानकारी दिँदै भने, “सोमबार बिहान हरिदास सेमिनरी स्कूलमा राष्ट्रिय कार्यकारिणी अध्यक्ष संजय झा र उप–मुख्यमन्त्री सम्राट चौधरीको अध्यक्षतामा समीक्षा बैठक हुनेछ । यस बैठकमा रैली सफल बनाउन आवश्यक रणनीति तय गरिनेछ।”

अध्यक्ष राजु बरनवालले गयाजीको धार्मिक र सांस्कृतिक महत्वलाई जोड दिंदै भने, “प्रधानमन्त्री मोदीको आगमनले गयाजीको विकासलाई नयाँ गति दिनेछ। ‘विरासत र विकास’ योजनामा गयाजीलाई विशेष प्राथमिकता दिइएको छ। यस रैलीले त्यही संदेश जनतासम्म पु¥याउनेछ।”

बैठकमा उपस्थित अन्य नेताहरूले कार्यकर्ताहरूलाई स्वागत, यातायात, बसोबास र प्रचारप्रसारको तयारीमा जुट्न निर्देशन दिए। विभिन्न टोलीलाई जिम्मेवारी तोकिएको छ, जसले २२ अगस्टको रैलीलाई भव्य बनाउन भूमिका खेल्नेछ।

महागठबन्धनले हालै सडक यात्रा सुरु गरेर चुनावी अभियानलाई तीव्रता दिएको छ। त्यसको जवाफस्वरूप अब एनडिए गयाजीको रैलीमार्फत शक्ति–प्रदर्शन गर्न लागेको हो। प्रधानमन्त्री मोदी र मुख्यमन्त्री नीतीशको संयुक्त उपस्थिति स्वयंमा गठबन्धनको एकताको संकेत मानिएको छ।

 

प्रकाशित मिति: २०८२ भाद्र २, सोमवार ०७:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको