सर्वोच्चको परमादेश विरुद्ध मधेशभरि विरोध प्रदर्शन



जनकपुरधाम, भदौ २ । गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्च अदालतले आज जारी गरेको परमादेश विरुद्ध मधेश भरि विरोध प्रदर्शन भएको छ ।

भूमि सम्बन्धि विधेयकमा जनता समाजवादी पार्टीले लिएको अडानका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई तर्साउन शासक वर्गले गौर हत्याकाण्डलाई उचाल्न लागेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले मधेश भरि विरोध प्रदर्शन गरेको हो ।

मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, रौतटह, बारा पर्सा सहितको जिल्लामा जसपा नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ ।
समाजवादी युवा संघ नेपालको नेतृत्वमा जनकपुधाममा मशाल जुलुस प्रदर्शन गरिएको छ । रामानन्दचोकमा जसपा नेपालका नेता कार्यकर्ताहरुले केही बेर बाटो अवरुद्ध गरि विरोध प्रदर्शन गरेका हुन ।

विरोध प्रदर्शनको क्रममा नेताहरुले भूमि विधेयकको बार्गेनिङ्गका लागि सर्वोच्चको परमादेश आएको आरोप लगाउदै सरकारी जालझेलबाट जसपा नेपाल र अध्यक्ष उपेन्द्र यादव नडराउने चेतावनी दिए । उनिहरुले भने,‘जे जे हत्थकण्डा अपनाउनु छ , अपनाउन, मधेशको माटो बेच्न दिन्नौ , हाम्रो अडान कायम छ । ’

२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौर मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा छुट्टाछुट्टै आयोजना गरेको कार्यक्रममा झडप हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।

फोरमले कार्यक्रमको तिथि घोषणा गरेपछि मधेशी मुक्ति मोर्चाले समेत सोही दिन सोही स्थानमा कार्यक्रम गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई एकै दिन कार्यक्रम नगर्न बरु एकदिन अघि–पछि गर्न अनुरोध गरेको थियो, फोरमले आफु पहिले घोषणा गरेकोले त्यही दिन गर्ने अडान लिएका थिए भने मोर्चाले पनि त्यही दिन कार्यक्रम गर्ने अडान लिएका थिए । कार्यक्रममा दुवैतर्फका कार्यकर्ता आउने क्रम बढ्दै गएपछि विवाद भएको थियो ।

मधेशी मुक्ति मोर्चाको तर्फ बाट पहिले गोली प्रहार भएपछि झडप उग्ररुप लिएको थियो । मोर्चाको प्रतिकारमा फोरमका कार्यकर्ता सहित स्थानीयवासीहरु उत्रिए पछि मोर्चा तर्फ ठूलो क्षति हुन गएको थियो ।

घटनाको छानबिन हुनु पर्ने मांग गर्दै त्रिभुवन शाहलगायतले सर्वोच्च अदालतमा दिएको निवेदन माथि सुनुवाई गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको हो ।

सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीका नेता कार्यकर्ता आक्रोशित भएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १९:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको